किन गर्‍यो चीनले ३४ हजार अनलाइन बन्द ?

Share:

अफवाह फैलाएको भन्दै चीनले ३४ हजार अनलाइन खाता बन्द गरेको छ।

चिनियाँ प्रहरीले अप्रिलमा सुरू गरेको क्र्याकडाउन कारबाहीको एक भागको रूपमा, अफवाह फैलाएको आरोपमा ३४ हजार अनलाइन खाताहरू बन्द गरेको छ भने ६ हजार ३०० भन्दा बढी व्यक्तिलाई कारबाही गरेको छ।

चिनियाँ इन्टरनेटलाई सत्तारुढ कम्युनिष्ट पार्टीले कडा नियन्त्रणमा राखेको छ। सामाजिक स्थायित्वको रक्षाको नाममा सामाजिक सञ्जालको व्यापक सेन्सरशिप गरिएको र प्रायः नकारात्मक कथन र आलोचनालाई दबाउन यसो गरिएको बताइन्छ।

त्यहाँ प्रहरी,  महामारी, खतरा र प्रकोप जस्ता संवेदनशील विषयमा गलत जानकारी सम्प्रेषण गर्ने जस्ता अवैध र आपराधिक गतिविधिहरूमाथि कडा कारबाही गरेको राज्य प्रसारक सीसीटीभीले शुक्रबार उल्लेख गरेको छ।

अहिलेसम्म देशभरका सार्वजनिक सुरक्षा निकायले ४ हजार ८ सयभन्दा बढी अनलाइन अफवाहका घटनामा अनुसन्धान गरी अफवाह फैलाउने ६ हजार ३ सयभन्दा बढीलाई कानून बमोजिम कारबाही गरेको छ।

साथै ३४ हजार अवैध खाता बन्द गरेको पनि सीसीटीभीले जनाएको छ। यसैबीच सीसीटीभीले अप्रिलमा क्लिन नेट अभियान सुरू भएदेखि प्रहरीले २७ हजार गलत सूचना मेटाएको र साइबर बुलिङका विषयमा ५०० भन्दा बढी सामाजिक खाताहरू बन्द गरेको बताएको छ।

प्रहरीले सन् २०२४ लाई अनलाइन अफवाहविरुद्ध लड्न विशेष कार्यको वर्षको तोकेको र त्यही अनुसार कारबाही प्रक्रियलाई तीव्र पारेको छ।

कमेन्ट गर्नुहोस्
Share: