भिरकोटमा एउटै वडाको सेवा दुई ठाउँबाट

Share:

स्याङ्जा : स्याङ्जाको भिरकोट नगरपालिका–८ को वडा कार्यालयले दुई ठाउँबाट सेवा प्रवाह गर्दै आएको छ । भौगोलिक विकटता र जनसङ्ख्याका दृष्टिले नगरपालिका ठूलो भएपछि वडावासीको सहजताका लागि दुई ठाउँबाट सेवा दिएको हो ।

 

वडाका सबैलाई पायकपर्ने ठाउँमा वडा कार्यालय नभएपछि वडावासीको सहजताका लागि दुई ठाउँमा वडा कार्यालय स्थापना गरी सेवा दिँदै आइएको वडाध्यक्ष नन्दलाल खनालले बताए । साविकको ढापुक सिमलभञ्ज्याङ गाविस सिङ्गैबाट बनेको ८ नं वडा भौगोलिक हिसाबले विकट तथा नगरपालिकाबाट टाढा भएकाले वडाबासीको पहलमा दुई ठाउँमा कार्यालय स्थापना गरी सेवा दिइएको उनको भनाइ छ ।

 

‘हप्तामा छ दिन कार्यालयबाट सेवा प्रवाह हुने भएकाले तीन दिन एउटा कार्यालयबाट र तीन दिन अर्को कार्यालयबाट सेवा दिँदै आएका छौं’, खनालले भने, ‘आइतबारदेखि मङ्गलबार ढापुक जामुनेडाँडा वडा कार्यालय र बुधबारदेखि शुक्रबारसम्म मोहनडाँडामा रहेको वडा कार्यालयबाट सेवा दिँदै आएका छौं ।’

 

वडाध्यक्षसहितका जनप्रतिनिधि तथा कर्मचारी हप्ताको पहिलो तीन दिन ढापुक जामुनेडाँडामा जाने र पछिल्लो तीन दिन मोहनडाँडामा रहेको वडा कार्यालयमा गई सेवा प्रवाह गर्दै आएका छन् । सुरुका दिनमा केही अन्योलतामा भए पनि अहिले भने सेवाग्राहीलाई पूर्ण जानकारी भइसकेको वडाध्यक्ष खनालले बताए । ‘नभइ नहुने अत्यावश्यक सेवा, सिफारिस लगायतका कामका लागि दुईमध्ये जुनसुकै कार्यालयबाट लिन पाइयो’, उनले भने ।

कमेन्ट गर्नुहोस्
Share: