उडानका क्रममा विमानको झ्याल फुटेपछि आपतकालीन अवतरण

Share:

 

अमेरिकाको ओरेगन राज्यमा १७७ जना यात्रु बोकेको अलास्का एयरलाइन्सको विमानलाई शुक्रबार आपतकालीन अवतरण गराइएको छ ।

‘फ्लाइट १२८२’ को विमान पोर्टल्याण्ड अन्तर्राष्ट्रिय विमानस्थलबाट स्थानीय समयअनुसार साँझ ५:०० बजे उडेको र विमानमा ‘चालक दलले चापको समस्या भएको रिपोर्ट गरेपछि’ सुरक्षित रूपमा फर्काइएको थियो,” सङ्घीय उड्ययन प्रशासनले एक्स (ट्वीटरमा)मा लेखेको छ ।

सामाजिक सञ्जालमा पोस्ट गरिएका तस्बिरमा विमानको झ्यालको शिशा फुटेको र छतमा इमर्जेन्सी अक्सिजन मास्क झुण्डिएको देखिएको छ ।

 

विमानमा सवार यात्रु काइल रिङ्करले सिएनएनलाई बताएअनुसार उडान भरेको केही बेरमै झ्याल फुटेको थियो ।

“यो वास्तवमा अचानक थियो । झ्याल भर्खरै बन्द भएको र विमान भर्खर उचाईमा पुगेको थियो । अक्सिजन मास्क बन्द नभएसम्म यसलाई महशुस गरिएन,” उनले सीएनएनसँग भने ।

अर्का यात्रु भि गुयेनले न्युयोर्क टाइम्सलाई बताएअनुसार उडानका क्रममा आएको चर्को आवाजले उनलाई ब्यूँझाएको थियो ।

“मैले आँखा खोल्दा सबैभन्दा पहिले मेरो अगाडि अक्सिजन मास्क देखेँ”, गुयेनले न्युयोर्क टाइम्ससँग भने, “त्यसपछि मैले बायाँतिर हेर्दा विमानको झ्यालको शिशा थिएन ।”

“जव मैले घटनालाई नजिकबाट देखेँ, पहिलो कुरा त मैले सोचें, ‘म मृत्युको मुखमा जाँदैछु’,” उनले थपे ।

राष्ट्रिय यातायात सुरक्षा बोर्ड, एफएए र अलास्का एयरलाइन्सले घटनाको अनुसन्धान गरिरहेको बताएका छन् ।

“छ जना चालक दलका सदस्यसहित १७१ जना यात्रु लिएर विमान पोर्टल्याण्ड अन्तर्राष्ट्रिय विमानस्थलमा सकुशल अवतरण गरेको छ,” एयरलाइन्सले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

कमेन्ट गर्नुहोस्
Share: