
नवलपरासी : हिउँदेबाली लगाउनका लागि ल्याइएको मललाई बिक्रेताले नलगेपछि गोदाममै थन्किएको छ । पश्चिम नवलपरासीको कृषि सामग्री कम्पनी लिमिटेड, नवलपरासीले हिउँदे बालीका लागि ल्याएको मल जिल्लास्थित बिक्रेता संस्था (सहकारी) ले नलगेपछि गोदाममा थन्किएको जनाएको छ ।
जिल्लाका नौ बिक्रेता संस्थाले युरिया र डिएपी मल नलगेकाले गोदाममा ७१ मेट्रिक टनभन्दा बढी थन्किएको लिमिटेडका प्रमुख नरहरि पोखरेलले जानकारी दिए । उनका अनुसार हिउँदे बाली गँहु, तोरी, मसुरो तथा उखुका लागि ल्याइएको मल थन्किएको हो ।
“धेरैपटक पत्राचार गर्दा पनि सहकारी संस्थाले मल लिन नमानेपछि उहाँहरुको भागमा परेको मल गोदाममै राख्नुपरेको छ”, पोखरेलले भने, “जिल्लामा रहेका साबै पालिकाले आ–आफ्नो पालिकाभित्र रहेका बिक्रेता संस्थाको नामसहित निश्चित परिमाणमा मल दिने भनेर कृषि सामग्री कम्पनीलाई पत्र पठाएको थियो ।”
उक्त पत्र अनुसार लिमिटेडले बिक्रेता संस्थालाई मल वितरण सुरु गरेको थियो । नौ बिक्रेताका नाममा रहेको मल उनीहरुले नलगेपछि करिब ७१.३ मेट्रिक टन गोदाममा थन्किएको छ । प्रमुख पोखरलेका अनुसार रामग्राम नगरपालिकाभित्र रहेका परासी आदर्श बहुद्देश्यी, त्रिदेव बचत तथा ऋण, पाल्हीनन्दन बचत तथा ऋण, र साना किसान कृषि सहकारी संस्थाले मल उठाएका छैनन् ।
