
चितवन : इच्छाकामना गाउँपालिका–५ स्थित मुग्लिन बजारमा रहेको विद्युतीय सवारी ‘चार्जिङ स्टेसन’ मर्मत नहुँदा सेवाग्राही समस्यामा परेका छन् । झण्डै दुई महिनादेखि यहाँ रहेको चार्जिङ स्टेसन बिग्रेको हो ।
सञ्चालनमा आएको एक वर्ष नबित्दै चार्जिङ स्टेसनमा ‘चार्र्ज’ गर्ने ‘नोजल’ फुट्नुका साथै स्टेसनका दुई डिसी चार्जर बिग्रेको जनाइएको छ । हाल एउटा एसी चार्जर मात्र सञ्चालनमा छ ।
एसी चार्जरबाट सवारीसाधन चार्ज गर्दा ढिलो हुन्छ । गाडी चार्ज गर्न आउनुभएका गोरखाका धुर्व गुरुङले चार्जिङ स्टेसन बिग्रँदा हैरानी बेहोर्नुपरेको गुनासो गरे । उनले एसी चार्जरबाट चार्ज गर्दा घण्टौं कुर्नुपर्ने समस्या रहेको बताए । उनले २० मिनेटमा गाडी जम्मा छ प्रतिशत चार्ज भएको बताए । “बिग्रेको अवस्थामा झण्डै एक घण्टामा पूरै चार्ज हुन्थ्यो”, उनले भने, “अहिले त दुई तीन घण्टा कुर्नुपर्छ ।”
उनले सरकारले विद्युतीय सवारी साधन प्रयोगमा जोड दिएपनि थप चार्जिङ स्टेसन निर्माण र बिग्रेका स्टेसनको समयमै निर्माण गर्ने कुरामा ध्यान नदिएको गुनासो गरे । उनले धेरै चार्जिङ स्टेसन नहुँदा भएका स्टेसनमा धेरै समय लाइन लगाएर मात्रै चार्ज गर्न पाइने गरेको बताए ।
