माटोमा अम्लीयपन बढ्दा उत्पादन घट्दो

Share:

मोरङ : किसानले बालीमा जथाभावी रासायनिक मल र विषादीको प्रयोग गर्दा माटोको उर्वराशक्तिमा ह्रास हुँदै जानुको साथै अम्लीयपन बढ्दै गएको छ । कोशी प्रदेशमा ८० प्रतिशत अम्लियपनयुक्त माटो रहेको कोशी प्रदेशस्थित माटो तथा मल परीक्षण प्रयोगशाला कार्यालय झुम्का सुनसरीले जनाएको छ ।

किसानले अव्यवस्थित रूपमा रासायनिक मलको प्रयोग गरेकाले माटोले उत्पादकत्व गुमाउँदै गएको कार्यालयका प्रमुख विगम्बर यादवले जानकारी दिए। मोरङ बेलबारी नगरपालिकाको सहजीकरण तथा प्रयोगशालाको आयोजनामा बेलबारीस्थित घुम्ती प्रयोगशालामार्फत माटो परीक्षण शिविरमा स्थानीय ५६ किसानको सहभागिता थियो ।

उक्त शिविरमा किसानद्वारा परीक्षणका लागि ल्याइएका माटोको अम्लिय, क्षारीय, नाईट्रोजन, फस्फोरस, पोटास, प्राङ्गारिक पदार्थ र माटोको भूबनोट जाँच गरिएको प्रमुख यादवले जानकारी दिए। उनका अनुसार समग्र प्रदेशभरीको माटोमा प्राङ्गारिक मलको मात्रा निकै कम देखिएको छ  ।

अम्लीयपन माटोमा प्रत्येक वर्ष बढ्दै गएको छ । बर्सेनि रासायनिक मलको प्रयोग बढ्दै जानु र प्राङ्गारिक मलको प्रयोग घट्नु, बाली सघनता बढ्नु र बाली चक्र नअपनाउनाले माटोको उर्वरा शक्ति घट्दै गएको प्रमुख यादवको भनाइ थियो ।

“माटोमा रासायनिक मलको प्रयोग बढ्दो छ । सन्तुलित रुपमा मलको प्रयोग गर्दै प्राङ्गारिक पदार्थ बढाउनुपर्छ”, कृषि विज्ञ राजेन्द्र उप्रेतीले भने, “बालीचक्र बिचमा एक पटक कोसेबाली लगाउनु अनिवार्य छ ।” सजिलोको नाममा मकै, धानलगायत बाली उठाइसकेपछि बोटलाई खेतमै जलाउने गर्नाले माटोको गुणलाई नष्ट गरी गड्यौला, कमिलालगायत जीवलाई समेत नष्ट गर्ने उहाँले बताउनुभयो ।
“माटोमा पाइने गड्यौला, कमिलालगायत जीवले माटोलाई उर्वर बनाउन मद्दत गर्छन्”, कृषि विज्ञ उप्रेतीले भने, “यसरी खेतमा आगो लगाउँदा ती जी जलेर नष्ट हुँदा माटोको उर्वराशक्तिमा पनि कमी ल्याउछ ।” माटोमा भएको अम्लियपन सुधारका लागि खेतीयोग्य जमिनमा हुने उत्पादन क्षमता कायम राख्नुपर्ने उनको भनाइ थियो । माटोको उत्पादन बढाउन नियमित माटो परीक्षण गराउने, चुन र प्राङ्गारिक मलको प्रयोग बढाउनेलगायत काम गर्नुपर्ने कृषि प्राविधिकले सुझाव दिएका छन् ।
कमेन्ट गर्नुहोस्
Share: