नख्खु कारागारका ५० प्रतिशत कैदीबन्दीमा दृष्टिदोषको समस्या

Share:

काठमाडौं : कारागार कार्यालय नख्खु ललितपुरमा निःशुल्क आँखा शिविर सम्पन्न भएको छ । नेपाल नेत्रज्योति संघ किर्तिपुर आँखा अस्पतालले कारागारमा ४ दिने निःशुल्क आँखा शिविर संचालन गरेको हो ।

अस्पतालले कारागारमा रहेका ८१६ जना कैदीबन्दीहरूको आँखा जाँच गरेको हो । आँखा जाँच गरिएकामध्य  ५० प्रतिशत कैदीबन्दीहरूमा दृष्टिदोषको समस्या देखिएको छ । अस्पतालकी अध्यक्ष एबं आँखा रोग विषेशज्ञ प्रा.डा सबिना श्रेष्ठका अनुसार ४०० जना कैदीबन्दीहरूमा दृष्टिदोषको समस्या देखिएको छ भने ९ जना मोतिबिन्दुका बिरामी भेटिएका हुन् ।

अस्पताल व्यवस्थापक दिपक बोहोराका अनुसार १४८ जनालाई निःशुल्क चस्मा वितरण गरिएको छ भने शिविरमा भेटिएका ९ जना मोतिबिन्दुका बिरामीलाई अप्रेसनको सेवा समेत निःशुल्क उपलब्ध गराइएको छ ।

‘सामान्यत वर्षमा दुई पटक सबैले नियमित आँखा परिक्षण गर्नुपर्छ तर कारगारमा रहेका कैदीबन्दीहरू बर्षौदेखी आँखा उपचारको पँहुचबाट टाढा रहेको थाहा पाएपछि हामिले वहाँहरूलाई आँखा स्वास्थ्यको पहुँचमा ल्याउन निःशुल्क शिविरको आयोजना गरेका हौ’ प्रा.डा श्रेष्ठले भनिन् ।

वि.स २०३५ सालमा नेपालमा आँखा उपचार सेवाको विकास र विस्तारको लक्ष्य सहित एक गैर नाफामुलक संस्थाका रुपमा स्थापना भएको नेपाल नेत्रज्योति संघ अन्तरगत हाल देशभरमा २७ वटा आँखा अस्पताल, १५४ आँखा उपचार केन्द्र तथा ४४ जिल्ला शाखाहरू संचालनमा छन् । संघ अन्तरगतका आँखा अस्पताल, आँखा उपचार केन्द्र मार्फत वार्षिक ३० लाख बढि बिरामीको आँखा जाँच हुने गर्दछ ।

स्थापना देखि सन् २०२२ सम्ममा संघको नेटवर्क मार्फत नेपाली नागरिक तथा अन्य विभिन्न देशका नागरिक गरी कुल ४ करोड २ लाख ८६ हजार ५ जना आँखाका बिरामीहरूलाई आँखा उपचार सेवा प्रवाह गरिसकेको छ भने ४८ लाख ६७ हजार ७७४ जनाको आँखाको शल्यक्रिया भइसकेको छ ।

कमेन्ट गर्नुहोस्
Share: