
पोखरा : कविताले भाव मात्र लेख्दैन । क्रान्ति लेख्छ, पोख्छ । कविताले प्रहार गर्छ शब्द मार्फत । यसका विविध आयाम प्रश्न गर्छ । प्रेमिल भाव पोख्न होस् वा प्रहार गर्न कविताको लयात्मक प्रस्तुती बेजोड हुन्छ । यी आयामहरु फेरिदो छन् । गद्य र छन्द बाहेक कविता लेख्ने आफनै शैली बनेका छन् । आजकल कवितामा शब्दमा मात्र पोखिदैन । संगितको धुनमा कविताको लय साटिन्छ । प्रस्तुतिका शैली फेरिएका छन् ।
तरपनि बेलाबेला नेपाली कविताले आलोचना खेपिरहन्छ । भूपि शेरचन र बैरागी काइलाको पेरिफेरिमा नेपाली कविता पोखिएको आरोप लाग्छ । नयाँ फरक शैली र ढंगमा कविले स्वाद पस्कन नसकेको बहस बेलाबखत भइरहन्छन् ।
यायवत आलोचना खेपिरहेका कविता क्षेत्रका विषयमा फरक धारण राख्छन् कविहरु । नेपाली कविता शैली फैलिएकोमा सन्तोष रहेको सुनाउँछन् कवि नवराज लम्साल । विविधता रहेको नेपाली कविताले आजको मुद्दाहरुको उठाइरहेको उनको भनाइ छ । पहिलेको समय प्रेमभाव कोरिने शब्द अहिलेको समयसम्म आइपुग्दा विद्धोह लेख्न थालेको विचार राख्छन् ।
‘हिजो कविता प्रेमको खोलासँग मात्र सिमित थियो त्यो प्रेमको फैलावाट छ । आफनो अधिकार निम्ती लडिरहेका अधिकार मागिरहेको पहिचान खोजिरहेको जमात सँग छ । वर्षौँदेखि दासत्व शोषण छुवाछुत र अमानवीय व्यवहार भोगिरहेका मानवहरुको विद्रोहसँग छ । नेपाली कविता फैलिएको छ । आजको कविता सन्तोषका साथ अघि बढेको छ,’नवराजले सुनाए ।
सूर्य नेपाल गाथा नेपाल लिटरेचर फेस्टिभलको चौथो दिन भएको ‘कविताका आयाम’ सत्रमा सहजकर्ता शकुन्तला जोशीले प्रश्नको जवाफ दिँदै नवराजले सो बताएका हुन् । उनको यो विचारमा एकै भाव पोख्छन् वक्ताका रुपमा रहेका तीर्थ श्रेष्ठ । नेपाली कविता संकुचित भएर बसेको आफूलाई नलाग्ने उनको विचार थियो ।
‘कविता राजनीतिक व्यवस्था जस्तो झयाकझाकी परिवर्तन हुने कुरापनि होइन । तर, कविता कविहरु पिच्छे बेग्लाबेग्लै ढंगले प्रस्तुतपनि हुन्छ । नेपाली कविता संकुचित भएर बसेको भन्ने लाग्दैन । नेपाली कविता भूपि र वैरागी काइलो सेरोफेरोमा बसेको छ भन्ने मलाई लाग्दैन । त्यसमा जति चर्चा परिचर्चा हुनुपर्ने हो त्यो नभएको हो,’ उनले सुनाए ।
कविताका आयाम विषयमा चर्चामा अर्की वक्ता थिइन् सुमिना । पछिल्लो समय बागी स्त्रीको आत्मकथा कविता संग्रह प्रकाशित गरेकी उनलाई प्रश्न थियो ,‘बागी हुन हामीलाई के ले प्रेरित गरेको छ ?’
लेखनका अनेक विधामा आफनो मनलाई घत लाग्ने विषयमा कलम चल्ने सुनाउँछिन् सुमिना । सामाजिक परिवेशले नै बागी बनाएको सुमिनको भनाइ छ ।
‘हामीलाई बागी बनाउने भनेको सामाजिक परिवेश नै हो लाग्छ । विभेद हिंसाका श्रृखंला देख्छौँ । त्यतिबेला हामीसँग विकल्प नै हुँदैन कि हामी बागी न बनौँ । र्निविकल्प विकल्प नै विद्रोही आवाज लाग्छ त्यसलाई मैले चाहिँ कवितामा प्रस्फुटन गरिराखेको छु,’उनले सुनाइन् ।
कविले शब्द मार्फत अँध्यारो समयमा टुकी जलाउने कामपनि गर्नुपर्ने बताइन् । वैचारिक जागरणका लागि कविताले भूमिका खेल्ने उनको भनाइ छ ।
