
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद पूर्वराज्य मन्त्री डा तोसिमा कार्की र सांसद हरि ढकाल आइतबार वीर अस्पतालको अनुगमन गरेका छन् ।बिरामीहरुले आइसियु नपाएर अलपत्र परिरहेको तर अस्पतालमा चाहिँ आइसियु बेडहरु प्रशस्त खाली रहेकोभनिएको गुनासोहरु आएपछि उनीहरू अनुगमन गर्न पुगेका छन् ।
अनुगमनमा पुग्दा दैनिक सयौँ बिरामी हर्ने र उपचार गर्ने गरेको अस्पतालले प्रदान गरिरहेको सेवा धेरै नै घटेको पाइएको कार्कीले जानकारी दिइन्।
आइसियुहरुमा गत कार्तिक महिना देखि बेड थन्काएर राखेको पनि उनले बताइन् । ‘न्यूरो आइसियुमा९ शय्या भएकोमा मात्र ५ शय्या प्रयोग गरी ४ वटा शय्याको सेवा बन्द थियो। ग्यास्ट्रो आइसियुमा ११ शय्या आइसियु चलिरहेकोमा ताल्चा लाएर बन्द रहेको अवस्थामा भेटियो। त्यस्तै मेडिसिनको आइसियुमा ८ शय्या भएकोमा २ वटा शय्या थन्काएर राखिएको थियो’, उनले भनिन् ।
सरकारले तत्कालै जनशक्ति थप गर्नुपर्छ भन्दै उनले नेपालको स्वास्थ्य क्षेत्र धरापमा रहेको कुरा वीर अस्पताल उदाहरणका रुपमा रहेको बताइन् ।
