
काठमाडौं : भजन शिरोमणि भक्तराज आचार्यको निधन भएको छ। उनको आइतबार ८१ वर्षको उमेरमा निधन भएको हो।
संगीतकार हरि लम्सालका अनुसार अस्वस्थ भएपछि आचार्यलाई ललितपुरस्थित मेडिसिटी अस्पताल लगिएको थियो। तर, अस्पताल लग्ने क्रममा बाटोमै मृत्यु भएको लम्सालले बिगखबरसँग बताए।
गत दशैंमा लडेर टाउकोमा चोट लागेको थियो । आचार्यको पार्थिव शरीरलाई मंगलबार बिहान ९ बजे संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको परिसरमा अन्तिम श्रद्धाञ्जलीका लागि राखिने भएको लम्सालले जानकारी दिए ।
उनको जन्म बुबा बलभद्र र आमा रेनुकाको कोखबाट वि.सं. १९९९ साल असोज १६ गते धनकुटामा भएको हो। उनका जीवन भनुँ त घात छ,मुटु जलिरहेछ, यो मन गलिरहेछ,जति चोट दिन्छौ देऊ मायालु, हजार सपनाहरूको, सबै बेहोसी नशा पिएरलगायतका गीतहरू हिट छन्।
वि.सं. २०४६ सालको एक साँझ बौद्धमा सांघातिक हमला भएपछि भक्तराजका टाउकामा झन्डै सयभन्दा बढी टाँका मार्नुपरेको थियो। त्यसयता लगभग उनको गायनयात्रामा विराम लाग्यो।
उनका दुई सुपुत्र सत्यराज र स्वरूपराज पनि नेपाली सुगम संगीतमा स्थापित गायक छन्।
