
काठमाडौं : लागूऔषधसहित विभिन्न स्थानबाट १४ जना पक्राउ परेका छन्।
कैलाली, धनगढी उपमहानगरपालिका-४ स्थित ट्याम्पल रिसोर्टबाट लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय मिलिग्रामसहित सोही उपमहानगरपालिका-४ डेरा गरी बस्ने गौरीगंगा नगरपालिका-४ घर भएका २६ वर्षीय रोहन परियारलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी र जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको संयुक्त टोलीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो।
यसैगरी कैलाली, धनगढी उपमहानगरपालिका-३ ब्यारेलबाट लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ सय ७० मिलिग्रामसहित २ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका-२ बस्ने ३५ वर्षीय अशोक पाल र सोही उपमहानगरपालिका-१ बस्ने १८ वर्षीय किशोर रहेका छन्। प्रहरी चौकी त्रिनगरबाट खटिएको प्रहरीले सु.प.प्र.०१०१० प ९४०३ नम्बरको स्कुटरलाई जाँच गर्ने क्रममा स्कुटरमा सवार उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो।
सुनसरी, भोक्राहा नरसिंह गाउँपालिका-६ स्थित सडकबाट लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब ३ ग्राम ४९ मिलिग्रामसहित २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा मोरङ सुन्दरहरैचा नगरपालिका-७ गछियाँ बस्ने २० वर्षीय विमल चौधरी र सोही नगरपालिका-१० बस्ने २१ वर्षीय निकेश चौधरी रहेका छन्। इलाका प्रहरी कार्यालय लौकही र लागूऔषध नियन्त्रण ब्यूरो बिराटनगरबाट खटिएको संयुक्त टोलीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो।
यसैगरी सुनसरी, कोशी गाउँपालिका-१ पुरी टोलबाट लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब ३ ग्राम ९१ मिलिग्रामसहित इनरूवा नगरपालिका-६ सखुवागाछी बस्ने २६ वर्षीय सुशान्त खनाललाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय लौकही र लागूऔषध नियन्त्रण ब्यूरो विराटनगरबाट खटिएको संयुक्त टोलीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो।
मोरङ, बिराटनगर महानगरपालिका-१६ दरैयाचोकबाट लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम ३९ मिलिग्रामसहित सुनसरी दुहबी नगरपालिका-२ बस्ने २० वर्षीय शुसान्त चौधरीलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको प्रदेश १-०२-०५३ प ५८२१ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा चालक शुसान्तलाई उक्त पदार्थसहित पक्राउ गरेको हो।
कास्की, पोखरा महानगरपालिका-३१ नहरचोकस्थित धौलागिरी होटलबाट लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ ग्राम ५ सय मिलिग्रामसहित मकवानपुर हेटौंडा उपमहानगरपालिका-१२ घर बताउने २६ वर्षीय अस्मित ढुंगानालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। उक्त होटलमा लागूऔषध बेचबिखन भइरहेको भन्ने सूचनाको आधारमा लागूऔषध नियन्त्रण ब्यूरो पोखरा र जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको संयुक्त टोलीले होटलमा बस्दै आएका अस्मितको कोठा तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो।
पर्सा, वीरगंज महानगरपालिका-१६ स्थित सडकबाट लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय ५० ग्राम र अफिम जस्तो देखिने पदार्थ १ सय ५० ग्रामसहित २ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा मकवानपुर हेटौंडा उपमहानगरपालिका-३ घर भएका २९ वर्षीय समुन्द्र साह र २४ वर्षीय अमिर बानियाँ रहेका छन्। प्रहरी चौकी इनर्वा पर्सा र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय पर्साबाट खटिएको संयुक्त टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको बागमती प्रदेश ०३-०२ प ९४५० नम्बरको स्कुटरलाई जाँच गर्ने क्रममा स्कुटरमा सवार उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो।
झापा, मेचिनगर नगरपालिका-६ पुरानो मेचिपुलबाट लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ५ ग्राम १ सय मिलिग्रामसहित दमक नगरपालिका-९ बस्ने २७ वर्षीय आषिश खडियालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ। लागूऔषध नियन्त्रण ब्यूरो काँकरभिट्टा र इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको संयुक्त टोलीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो।
ललितपुर, महालक्ष्मी नगरपालिका-५ टिकाथलीबाट लागूऔषध गाँजा १ सय ग्राम, नियन्त्रित लागूऔषध ट्रामाडोल २१ ट्याब्लेट, नगद ४ हजार ९ सय १५ रूपैयाँ, मोबाइल ६ थान, ट्याब १ थान, हातमा लगाउने नक २ थान, बन्चरो १ थान, क्यामरा १ थानसहित काभ्रे घर भई काठमाडौं कोटेश्वर बस्ने १८ वर्षीय किशोर समेत ३ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। प्रहरी चौकी टिकाथलीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध र सरसामानसहित पक्राउ गरेको हो।
