
काठमाडौं : छुट्टाछुट्टै सवारी दुर्घटनामा चार जनाको मृत्यु भएको छ।
चितवन, भरतपुर महानगरपालिका-२९ सत्रकिलोस्थित सडकमा बा.४ ख ९०८६ नम्बरको बस, ना.३ ख ७९१५ नम्बरको ट्रक, ना.७ ख ३२४८ नम्बरको बस र ना.६ ख ८९६८ नम्बरको बस एकआपसमा ठक्कर खाई गएराति दुर्घटना हुँदा प्युठान नौबहिनी गाउँपालिका-३ बस्ने १३ वर्षीय सोयन पुनको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको नयाँ मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको हो। तीनवटै बस चालकसहित घाइते भएका अन्य २१ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ। ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा रहेको छ।
सल्यान, कपुरकोट गाउँपालिका-३ अरिंगालेफेदीस्थित सडकमा रा.१ ख १९१६ नम्बरको मिनी ट्रक अनियन्त्रित भई आइतबार राति दुर्घटना हुँदा चालक सल्यान छत्रेश्वरी गाउँपालिका-६ बस्ने २६ वर्षीय सुकलाल घर्तीको घटनास्थलमै मृत्यु भएको छ। साथै दुर्घटनामा घाइते भएका सहचालकको कान्तिपुर अस्पताल श्रीनगर सल्यानमा उपचार भइरहेको छ।
झापा, शिवसताक्षी नगरपालिका-९ मिलनचोकस्थित सडकमा हाल नम्बर नखुलेको सवारी साधनको ठक्करबाट पैदलयात्री शिवसताक्षी नगरपालिका-९ बस्ने ६० वर्षीय पुत्रथाम राईको आइतबार राती मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएको उनको बिएण्डसी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। हाल फरार सवारी साधन र चालकको प्रहरीले खोजी गरिरहेको छ।
स्याङ्जा, पुतलीबजार नगरपालिका-१४ आमडाँडास्थित सडकमा ग.२० प ८५६१ नम्बरको मोटरसाइकल अनियन्त्रित भई आइतबार राति दुर्घटना हुँदा चालक सोही नगरपालिका-१ घुम्तिंमा डेरा गरी बस्ने भारत मोतिहारी घर भएका ३५ वर्षीय सुनिल कुमार शाहाको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएको उनको जिल्ला अस्पताल स्याङजा हुँदै मणिपाल अस्पताल पोखरामा थप उपचारको क्रममा मृत्यु भएको हो।
