
काठमाडौँ। काठमाडौँ उपत्यका भएर बग्ने नदीहरूमा शुक्रवार आएको बाढीले खतरा तह पार गरेको छ। बागमती नदीको खोकना, गौरी घाट, बल्खुमा खतरा तह पार गरेको जल तथा मौसम विज्ञान विभाग जनाएको छ।
यहाँ खतराको तह ४ मिटर रहे पनि बाढी बढेर ५ मिटरमा पुगेको छ। अझै बढ्दो क्रममा रहेकाले नदीको तटीय क्षेत्रहरूमा यात्रा गर्ने र रहनेले भोलि दिउँसोसम्मै उच्च सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।
उपत्यकाका अन्य खोला र नदीहरू भने सावधानीको तहमा पुगेको छ। उपत्यकाको नदी तटीय क्षेत्रमा डुबान हुन थालेको छ
विष्णुमती नदीमा आएको बाढीले गोङ्गबु बसपार्कमा खतरा तह पार गरेको छ। विभागले पानीको सतह निरन्तर बढिरहेकाले त्यस क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन आग्रह गरेको छ।
त्यस्तै काठमाडौँ महानगरपालिकाले पनि शुक्रवार सूचना जारी गर्दै खोला आसपासका बासिन्दालाई सतर्कता अपनाउन सुझाव दिएको छ।
