
काठमाडौं : लागूऔषधसहित विभिन्न स्थानबाट सात जना पक्राउ परेका छन् ।
बाँके, नेपालगंज उपमहानगरपालिका-२० राँझाबाट लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ८ ग्राम २ सय मिलिग्राम सहित डुडुवा गाउँपालिका-५ बस्ने ३६ वर्षीय सन्तराम अहिरलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण व्यूरो बाँकेबाट खटिएको प्रहरीले लग्दहवाबाट राँझातर्फ आउँदै गरेको भे.१० प ५१९० नम्बरको मोटरसाइकललाई जाँच गर्दा चालक सन्तरामलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यसैगरी बाँके, कोहलपुर नगरपालिका-८ बाबानगर पिपिरी बस्ने २४ वर्षीय अभिनास चौधरीलाई लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ सय ६० मिलिग्राम र नगद १८ हजार रूपैयाँ सहित शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो ।
कञ्चनपुर, पुनर्वास नगरपालिका-११ डोकेबजारबाट लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब १ ग्राम १ सय ७० मिलिग्राम सहित भारत लखिमपुर पलिया बस्ने २० वर्षीय बिकाश पाल समेत २ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी परासनबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
कैलाली, धनगढी उपमहानगरपालिका-५ शिवनगरबाट लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ८० मिलिग्राम सहित सोही उपमहानगरपालिका-१ बस्ने २४ वर्षीय भरत राज जोशीलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
साथै थप अनुसन्धानको क्रममा सोही नगरपालिका-५ बस्ने बिनय थापाको घरबाट ७ सय ४० मिलिग्राम उक्त पदार्थ फेला पारी प्रहरीले बरामद गरेको छ । हाल फरार बिनयको प्रहरीले खोजी गरिरहेको छ ।
झापा, झापा गाउँपालिका-५ स्थित बिरिङ खोलाको पुलबाट लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब २ ग्राम ९५ मिलिग्राम सहित २ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा बाह्रदशी गाउँपालिका-३ बस्ने २२ वर्षीय अनिल राजवंशी र हल्दिबारी गाउँपालिका-१ बस्ने २३ वर्षीय बिशाल राई रहेका छन् । प्रहरी चौकी शरणामति समेतबाट खटिएको प्रहरीले प्रदेश १-०१-०१२ प ९७११ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
