
पोखरा। सहकारी ठगीको आरोप लागेपछि फरार रहेका ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीलाई भारतबाट पक्राउ गरेर नेपाल ल्याइएको छ।
केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले नेपालीलाई शनिबार नेपाल ल्याएको हो। नेपाली इमेज बचत तथा ऋण सहकारी संस्था लिमिटेड बाग्लुङ र पोखराका संस्थापक अध्यक्ष तथा सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेड पोखराको सञ्चालक समितिका उपाध्यक्षसमेत हुन्।
५१ वर्षीय नेपालीसमेत ८ जनालाई सहकारी ऐन २०७४ अन्तर्गतको कसुरमा पक्राउ गर्नका लागि बाग्लुङ जिल्ला अदालतबाट २०८० जेठ २४ गते पक्राउ अनुमति जारी भएको थियो।
त्यसयता उनी फरार रहेकोमा २०८० माघ १० गते रेड कर्नर नोटिस जारी भएको थियो। उनलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय बाग्लुङ पठाइएको छ।
उनीसँगै इमेज बचत तथा ऋण सहकारी संस्था बाग्लुङको ठगीमा संलग्न रहेको आरोप लागेका ओमबहादुर नेपाली भन्ने ओम प्रसाद दर्जीलाई पनि पक्राउ गरिएको छ।
इमेज बचत तथा ऋण सहकारी संस्था लिमिटेडबाट १ अर्ब ३८ करोड ६३ लाख १३ हजार ५२५ रुपैयाँ ठगी भएको अनुसन्धानबाट खुलेको छ।
ढोरपाटन नगरपालिका वडा नम्बर १ घर भएका मेयर नेपालीसहित ११ जना सञ्चालकविरूद्ध गत वर्ष असार २५ गते बागलुङ जिल्ला अदालतमा मुद्दा दर्ता भएको थियो।
उनी २०७९ वैशाखमा भएको स्थानीय तह निर्वाचनमा नेकपा (एमाले) बाट उम्मेदवार भई मेयर निर्वाचित भएका थिए। त्यसअघि उनी २०७४ को निर्वाचनमा पनि मेयर निर्वाचित भएका थिए।
२०७४ को स्थानीय तहको चुनावअघि टिकट नपाएपछि उनले नेकपा (माओवादी केन्द्र) छाडेर एमाले प्रवेश गरेका थिए।
सहकारी प्रकरणमा जोडिएपछि एमालेले २०८० जेठमा नेपालीलाई निलम्बन पनि गरेको थियो। उनलाई एमालेले गण्डकी प्रदेश कमिटी सदस्यबाट निलम्बन गरेको हो।
