दाउन्ने सडक आज रातभरि बन्द हुने

Share:

पोखरा। पूर्वपश्चिम राजमार्गअन्तर्गत दाउन्ने सडकखण्ड मंगलवार रातभरि नै बन्द गरिने भएको छ।

जिल्ला प्रशासन कार्यालय नवलपरासीले तत्काललाई भासिएको सडकमा सवारीसाधन सञ्चालनमा आए पनि आज राति १० बजेदेखि भोलि (बुधवार) विहान ५ बजेसम्म सबै सवारीसाधन बन्द गरेर नै सडक मर्मत गरिने जनाएको छ।

बर्दघाट नगरपालिका-४ दाउन्नेको खुर्सानी खोलामा सोमवार साँझ सडक भासिएपछि यातायात अवरुद्ध भएको थियो। आज विहान ९ बजे एकतर्फी सञ्चालन गरेर हलुका सवारीसाधन आवागमन खोलिएको थियो।

बस र मालवाहक ट्रकका साथै यात्रुवाहक बसलगायत ठूला सवारीसाधन भने वारपार भएका छैनन्।

ट्राफिक प्रहरीका अनुसार हिजो साँझदेखि अवरुद्ध भएकाले सवारीसाधनको जाम निकै लामो हुँदा सवारी व्यवस्थापन कठिन भएको छ।

करिब ४ मिटर सडक डेढ फिट भासिएको छ। सडक भासिएको ठाउँमा माटो र गिटी भरी बेस तयार पारेर सडक मर्मत थालिएको छ।

लगातार २ दिनसम्म परेको वर्षाले गलेको सडक भासिएको थियो। सडक भासिएपछि पूर्वबाट पश्चिम जाने गाडीहरू दुम्किबासमा र पश्चिमबाट पूर्व जाने गाडीहरू बर्दघाटमा रोकिएका थिए।

कमेन्ट गर्नुहोस्
Share: