
काठमाडौँ। नेपाली हिन्दूहरूको महान् पर्व बडादशैँ आजबाट सुरू भएको छ। असोज शुक्ल पक्ष प्रतिपदाका दिन आज बिहान घर-घरमा जौ, मकै, गहुँ आदिको जमरा राखी घटस्थापना गरेसँगै यसपालिको दशैँ सुरु भएको हो।
नेपाल पञ्चांग निर्णायक समितिले घटस्थापनाका लागि बिहान ९ बजेर १६ मिनेटको शुभ साइत तोकेको छ।
असोज शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म चल्ने यो पर्व दशैँलाई असत्यमाथि सत्यको विजयका रूपमा लिने गरिन्छ। घटस्थापनाको दिन पूजाकोठा, दशैँघर अथवा कोतमा दियो कलश र गणेश थापी नवदुर्गाको स्थापना गर्ने चलन छ।
कतै-कतै भने ब्रम्हाको पनि स्थापना गरिन्छ। घटस्थापनाका दिन पूजाकोठामा घैटौ अथवा घडामा जलभरि आँप, चाँप, वर-पिपलको पात राख्ने परम्परा छ। यो घर वरिपरि गाईको गोबर टाँसेर त्यहाँ जौ उमार्ने चलन छ।
कलशको स्थापना गरी नदी, खोला, बगर या आफूलाई पायक पर्ने ठाउँबाट ल्याइएको चोखो माटोमा जौ छरिन्छ। बिहानै उठेर नुहाइ/धुवाइ गरी चोखो भएर पूजा कोठामा चोखो माटो राखी जौ र मकैको बीउ उमार्ने गरिन्छ।
त्यहीँ नजिकै थालीमाथि सुनको प्रतिमा राखी नवदुर्गा थाप्दै १० दिनसम्म पूजा गर्ने गरिन्छ। कहीँ/कहीँ मकै र गहुँको प्रयोग भए पनि अधिकांश स्थानमा जौ छर्ने प्रचलन रहेको छ।
आज घटस्थापनाको दिन सरकारले सार्वजनिक बिदा दिएको छ। त्यसैले आज सम्पूर्ण सरकारी कार्यालय,सेयर बजार, बैंक वित्तीय संस्था र शैक्षिक संस्था लगायत बन्द रहेका छन्।
आज नेपाल स्कट एक्सचेञ्ज (नेप्से) पनि आज बन्द छ। यो महिना अब ६ दिन मात्रै सेयर कारोबार हुने बताइएको छ। असोज २४ गतेदेखि २८ गतेसम्म भने सेयर कारोबार नहुने जनाएको छ। यो महिना असोज २०,२१,२२,२३,२९ र ३० गते सेयर कारोबार हुनेछ।
