बाढीपहिरोबाट घाइते भएका ५ सयभन्दा बढीको निःशुल्क उपचार

Share:

काठमाडौँ। बाढीपहिरोबाट घाइते भएका ५ सयभन्दा बढीको निःशुल्क उपचार भएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले देशभरमा ५ सयभन्दा बढीले निःशुल्क उपचार सेवा लिएको जनाएको हो।

मन्त्रालयका अनुसार विपद् प्रभावितमध्ये बहिरंग सेवाबाट ५६२ जना र भर्ना भई अन्तरंग सेवामार्फत शल्यक्रियासहित उपचार लिने कुल १०८ जनामा उपचाररत ३५ र उपचार पश्चात् डिस्चार्ज हुने सङ्ख्या ७३ जना छन्।

असोज ११ र १२ गते देशका अधिकांश स्थानमा परेको अविरल वर्षाका कारण बाढी, पहिरो, डुबान लगायत विपद्का कारण २१ वटा जिल्लाका मानिस प्रभावित भएका छन्। उद्धार गरिएका घाइतेहरूको निःशुल्क उपचार भइरहेको मन्त्रालयको दाबी छ।

यस्तै मन्त्रालयले बाढी, पहिरोका कारण पानीका स्रोतहरू प्रदूषित हुने सम्भावना अधिक रहेकाले पानीजन्य रोगहरू र सरसफाइ सम्बन्धी जनस्वास्थ्यका समस्याहरू झनै बढ्नसक्ने जनाएको छ। त्यस्तै किटजन्य, श्वासप्रश्वास, छालाजन्य, मानसिक जस्ता समस्या हुन सक्ने मन्त्रालयको भनाई छ।

जनस्वास्थ्य सुरक्षाका लागि आवश्यक औषधि, उपकरणहरू, स्वास्थ्यकर्मीहरूको व्यवस्थापनका लागि स्थानीय, जिल्ला स्वास्थ्य कार्यालयहरू र प्रदेशका सम्बन्धित निकायहरू मार्फत स्वास्थ्य आपत्कालीन कार्यसंचालन केन्द्रहरूले समन्वयको व्यवस्था गरिरहेको जानकारी गराएको छ।

यस्तै, आपत्कालीन अवस्थामा स्वास्थ्य सम्बन्धी कुनै समस्याको बारेमा जानकारी आवश्यक परेमा मन्त्रालयको कल सेन्टरको हटलाइन नम्बर १११५ मा सम्पर्क गर्न आग्रह गरिएको छ।

 

कमेन्ट गर्नुहोस्
Share: