बीपी राजमार्ग सुनसान, भित्री सडक बगेपछि जनजीवन अस्तव्यस्त

289
0
Share:

काठमाडौँ। असोज १० देखि १२ गतेसम्म परेको अविरल वर्षाका कारण गएको बाढीपहिराले रोशी गाउँपालिकामा गाउँबस्तीदेखि सडक, पुल र विद्युत्को पोल ढालेपछि अहिले यातायात, विद्युत् र सञ्चार सेवा टुटेको छ।

विपद्मा परेर धेरैले ज्यान गुमाउनेदेखि घाइते भएर धेरै मानिस अस्पतालमा उपचाररत छन्। सडकमा यात्रा गरेका यात्री बीच बाटोमा अलपत्र परेर गन्तव्यमा पुग्न अहिले पनि भोकभोकै कठिन यात्रा गर्दैछन्।

बाढीपहिरोका कारण यहाँका नागरिक जीवन कष्टकर बन्दै गएको छ। त्यस्तै कष्टकर जीवन जिउन बाध्य हुनेमा रोशीखोला आसपासका धेरै नागरिक छन्। यहाँका पसलमा उपलब्ध चाउचाउ र बिस्कुट पनि किन्न सक्ने अवस्था छैन। त्यसो त पसलेले नयाँ सामान ढुवानी गरेर बेच्न सक्ने अवस्था पनि छैन।

रोशीमा गएको बाढीपहिराले बीपी राजमार्गका विभिन्न खण्डमा क्षति पुर्याएपछि दैनिक हजारौँको सङ्ख्यामा गुड्ने सवारीसाधन अहिले ठप्प छ। राजमार्गका दर्जनौँ ठाउँमा बाढीले कटान गरी क्षति पुर्याएको छभने अधिकांश ठाउँमा पुरिएको अवस्था छ।

बीपी राजमार्ग अहिले सुनसान छ। राजमार्गमात्र सुनसान छैन, त्यस आसपासका बस्तीमा समेत सुनसान छाएको छ। बाढीपहिराले सडक, विद्युत्को पोल, खानेपानी पाइपलगायत भौतिक संरचना ध्वस्त बनाएपछि अहिले सो क्षेत्रका नागरिकलाई खाद्यान्न, बिजुली, सञ्चार र स्वास्थ्योपचारमा समस्या परेको छ।

त्यस्तै बाढीले रोशीखोला आसपासमा रहेका सयौँ रोपनी खेतीयोग्य जमिनसँगै लगाएको बालीसमेत बगाएको छ। रोशी गाउँपालिका अध्यक्ष दिनेश लामाले बाढीपहिरोका कारण बाटो, विद्युत् र सञ्चार टुटेकाले समुदाय र पालिकाबीचको सम्बन्ध नै टुटेको अवस्था रहेको बताए।

यस्तो अवस्थाकै बीचमा पनि पहिलो प्राथमिकता खोज तथा उद्धारमा दिएको र सँगसँगै अवरुद्ध बाटो खुलाउनेदेखि राहत तथा स्वास्थ्योपचारमा केन्द्रित भएर काम गरिरहेको उनले बताए। पूर्व जाने छोटो दूरीको राजमार्गलाई दसैँ अगाडि नै खुलाउने गरी वैकल्पिक मार्ग निर्माणको कामलाई अगाडि बढाएको उनको भनाइछ छ।

एकातिर विपद्मा परी नागरिक घाइते र पीडामा छन् भने अर्कातिर खाद्यान्न अभाव र बिरामी परेका नागरिकले समयमा नै उपचार नपाएर आक्रान्त बनेका छन्। सडक डिभिजन कार्यालय भक्तपुरका कर्मचारी चन्द्रबहादुर लामाले सडक खुलाउन निरन्तर आफूहरू स्काभेटरलगायत उपकरणसहित अस्थायी रूपमा वैकल्पिक बाटो बनाउने क्रममा रहेको बताए।

अहिले बीपी राजमार्गको काभ्रेपलाञ्चोक नमोबुद्ध नगरपालिका चौकीडाँडाबाट रोशी गाउँपालिका-१२ को बर्खिखोला सिन्धुलीको सिमानासम्मको करिब २० किलोमिटर सडकका विभिन्न स्थानमा अस्थायी वैकल्पिक मार्ग निर्माण गर्न हेलिकप्टरमा इन्धन ढुवानी गरी काम गरिरहेको सडक डिभिजन कार्यालयले जनाएको छ।

 

कमेन्ट गर्नुहोस्
Share: