
काठमाडौँ। दसैँको छेको पारेर ४५ वर्ष उमेर हदलाई हटाउन माग गर्दै आन्दोलन गरिरहेका क्याबिन क्रु (विमान परिचारकरपरिचारिका) को हड्तालका कारण नेपाल वायुसेवा निगमको शुक्रबार राति ११:३० बजेको काठमाडौं-दुबई उडान रद्द भएको छ।
यो उडान रद्द हुँदा दुईतिरका ३ सय २८ यात्रु अलपत्र परेका छन्। ‘काठमाडौँबाट जहाजमा पूरा लोड थियो। ५ बच्चा तथा १ सय ६१ यात्रुसहितको बुकिङ थियो,’ निगमको विमानस्थलमास्थित कार्यालयका एक कर्मचारीले भने,‘ अन्तिम समयमा क्याबिन क्रु नआइदिएपछि उडान रद्द भयो।’
आरए २२९ उडानका लागि निगमको न्यरोबडी सगरमाथा जहाज शुक्रबार राति साढे तीन बजेसम्म उडानको प्रतिक्षामा थियो। उक्त उडानका लागि खटाइएका परिचारिकाहरू सुबिना श्रेष्ठ, सुनिता थापा, रिना प्रजापती, दिलिसा श्रेष्ठ उडानमै नगइदिएपछि दुबई उडान रद्द भएको निगमको विमानस्थलमा रहेको कार्यालयले जनाएको छ।
‘ड्युटीमा आउनुपर्नेहरूलाई उनीहरूकै घरमा लिन गएको निगमको भ्यान रित्तै फर्केर एयरपार्ट आए। वैकल्पिक सूचीमा भएका क्याबिन क्रुले पनि फोन उठाएनन्।
साढे ११ बजे उड्नु पर्ने जहाज राति साढे ३ बजे रद्द भएको घोषणा गरेर दुबई उड्न तयार भएका यात्रुलाई गौशाला, ज्ञानेश्वरका होटलमा निगमकै खर्चमा राखिएको छ,’ सम्बद्ध एक अधिकारीले भने।
यसैबीच निगमको शुक्रबार राति जापानको नारिता उडान पनि हड्तालको प्रभावका कारण दुई घन्टा ढिलो हुन गई राति १२स्३० बजे मात्रै काठमाडौंबाट नारिता उडेको थियो।
निगमको प्राविधिक प्रवक्ता मनोजकुमार साहले क्याबिन क्रुको आन्दोलनका कारण दुबई उडान रद्द भएको पुष्टि गरेका छन्।
निगममा कार्यरत परिचारिकारपरिचारकहरूको संस्था नेफाल वायुसेवा क्याबिन क्रु संघले ४५ वर्षपछि अनिवार्य अवकासमा जाने नियम, सेवा सुविधामा विभेद भएको भनी २०८० पुसमा सर्वोच्च अदालतमा रिट निवदेन दिएका थिए।
उक्त मुद्दाको किनारा लागेको छैन। निगमले ४५ वर्ष उमेर पुगेका क्याबिन क्रुको करार नवीकरण नगरेपछि असोज १६ यता उनीहरू पुनः आन्दोलनमा उत्रिएका छन्।
यस विषयमा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले क्याबिन क्रुहरूलाई यो विषयको निकास पर्यटनमन्त्री बद्री पाण्डे र पर्यटन सचिव गणेशप्रसाद पाण्डेले गर्न सक्ने भन्दै मन्त्रालय जान भनेको नेपाल वायुसेवा क्याबिन क्रु संघमा आवद्ध एक परिचारिकाले बताइन्।
