
बैतडी। बैतडीको पञ्चेश्वर गाउँपालिका-२ डिम्बरकी अन्दाजी १७ वर्षीया किशोरी बेपत्ता भएको तीन दिनपछि मंगलबार प्रहरी हवल्दार कृष्णराज जोशीको बेपत्ता किशोरीसँग लसपस रहेको खुलेको छ। डिम्बर गाउँमै रहेको प्रहरी चौकी महाकालीका निमित्त इन्चार्ज समेत रहेका प्रहरी हवल्दार जोशीले किशोरीलाई बेपत्ता बनाएको आफन्तको दावी छ। प्रहरीले नै बेपत्ता बनाएकी किशोरी चार दिनसम्म फेला नपरेपछि आफन्तहरु आक्रोसित बनेका छन्।
शुक्रबार बिहान करिब ४ बजेको समयमा घरबाट पानी भर्न गएकी किशोरी अबरेसम्म नफर्किएपछि स्थानीयले खोजी गरेका थिए। खोजी गर्दै जाँदा आफुहरुले राती सम्म खोज्दा समेत फेला पार्न नसकेको किशोरीका आफन्तले बताएका छन्।
अहिले बेपत्ता किशोरीका परिवारले आरोप लगाएका प्रहरी हवल्दार भने प्रहरीको नियन्त्रणमा रहेका र प्रहरीले अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रबक्ता, प्रहरी निरीक्षक जनकराज ढुंगानाले बताए।
बेपत्ता किशोरीका आफन्तका अनुसार असोज २३ गते राती बेपत्ता किशोरी र आरोपित हवल्दार चार घण्टा सम्म सम्पर्क बिहीन भएर राती १० बजेसम्म दुबै जनाले छलफल गरेर फर्किएका बताएका छन्।
समय समयमा दुबै जना भेटिरहने गरेको बताइएको छ। स्थानीयले प्रहरी हवल्दार जोशीको मोबाइल फोनमा किशोरीसँगका फोटा समेत रहेको दाबी गरेका छन्।
आफन्तका अनुसार आरोपित हवल्दार असोज २४ गते शिवनाथ गाउँपालिकाको नागार्जुन घाटबाट भारततर्फ गएको बुझिएको छ। आरोपित हवल्दार जोशी २४ गते नागार्जुनघाट नाकाबाट गएर असोज २४ गते राती नै भारतबाट डिम्बर गाउँमा रहेको महाकाली प्रहरी चौकी फर्केको किशोरीका आफन्त प्रेम सिँह मंङ्गोलाले बताए।
बेपत्ता किशोरीका आफन्तले दावी गरेका डिम्बर गाउँमै रहेको प्रहरी चौकी महाकालीका निमित्त इन्चार्ज समेत रहेका प्रहरी हवल्दार जोशीले कार्यरत प्रहरी चौकी नजिकै किशोरीले पानी भर्न लगेको ग्यालन र ग्यालनमा प्रयोग गरिएको डोरी भेटिएको छ।
बेपत्ता किशोरी भने अहिलेसम्म भेटाउन सकिएको छैन। आरोपित प्रहरी हवल्दार जोशीले भारततर्फ भाग्ने क्रममा नजिकैको डिम्मरघाट छोडेर करिब २ किलोमिटर टाढा रहेको नागार्जुन घाटको बाटो प्रयोग गरेका थिए।
नागार्जुनघाटबाट भारत जाने क्रममा त्यहाँसम्म जोशीको झोला सहायक हवल्दार चन्द्र धामी र प्रहरी जवान बिरेन्द्र कार्कीले बोकेर सहयोग गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानको क्रममा खुलेको छ।
