
काठमाडौँ। क्लाको मौसम खराब भएपछि रामेछापको मन्थली विमानस्थलबाट दुई दिनदेखि उडान हुन सकेको छैन । खुम्बु क्षेत्रको खराब मौसमका कारण उडान हुन नसकेपछि मन्थली विमानस्थलबाट लुक्ला जाने पर्यटक अलपत्र परेका छन्।
मन्थली-लुक्ला उडान प्रभावित बनेपछि सगरमाथा क्षेत्र जाने र आउने विदेशी पर्यटक समस्यामा परेका छन् । मन्थली विमानस्थलबाट सोमबार र मंगलबार दुवै दिन खुम्बुको खराब मौसमका कारण उडान हुन नसकेको मन्थली विमानस्थलका उप-प्रबन्धक हिरण्य साहले बताए।
मन्थलीबाट लुक्ला जाने पर्यटक मौसम खुल्ने आशामा बसेको उनले बताए । मौसम खुलेको समयमा बिहानदेखि साँझसम्म दैनिक ३ वटा निजी क्षेत्रका विमानले ५५ भन्दा बढी उडान भर्दै आएका छन्।
मन्थलीबाट काठमाडौं भने तालिकाअनुसार उडान भइरहेको उनले बताए। मन्थलीबाट लुक्ला उडान प्रभावित बनेपछि कतिपय पर्यटक जिरी हुँदै सगरमाथा क्षेत्रमा पैदल जान थालेका छन्।
नागरिक उड्डयन प्राधिकरणले सगरमाथा घुम्न जाने पर्यटकलाई लक्षित गरेर मन्थलीबाट-लुक्ला उडान सञ्चालन गर्दै आएको छ। मन्थली विमानस्थलबाट निजी क्षेत्रका समिट, तारा र सीता एयरका विमानले सगरमाथा जाने पर्यटकका लागि उडान भर्दै आएका छन्।
सगरमाथा क्षेत्र घुम्नका लागि उपयुक्त वसन्त ऋतुको चैत्रदेखि जेठसम्म र शरद ऋतुको असोजदेखि मंसिरसम्म मन्थली विमानस्थलबाट लुक्ला उडान हुँदै आएको छ।
लुक्ला उडान खुम्बु क्षेत्रको खराब मौसमका असोज २३ गतेबाट ३ दिन प्रभावित बनेको थियो। यस्तै असोज १० देखि १२ गतेसम्म परेको अविरल वर्षाका कारण मन्थलीबाट लुक्ला उडान हुन सकेको थिएन।
