
बैतडी। बैतडी आउँदै गरेको बस डडेल्धुरामा दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ भने १२ घाइते भएका छन्। कञ्चनपुरको महेन्द्रनगरदेखि बैतडीको पुर्चौडी आउदै गरेको पवनदुत यातायातको ना ८ ख १०७८ नम्बरको बस मंगलबार बिहान डडेल्धुराको अमरगढी नगरपालिका-७ खस्रेखानमा दुर्घटना भएको हो।
दुर्घटनामा १ पुरुष, २ महिला र १ नाबालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी निरीक्षक तथा प्रवक्ता उपेन्द्रबहादुर बमले बताए। मृतक बैतडीको पुर्चौडी नगरपालिका-३ का ४५ वर्षीय जयमती बोहराको सनाखत भएको छ भने अन्य ३ जनाको सनाखत हुन बाँकी रहेको डडेल्धुराका सूचना अधिकारी एवं प्रहरी निरीक्षक बमले जानकारी दिए।
दुर्घटनामा घाइते हुनेमा पुचौर्डी नगरपालिका-७ का २४ वर्षीय नवराज साउँद, वडा नं. ६ का २४ वर्षीय राजेन्द्र साउँद, वडा नं. ८ का ४२ वर्षीय पदम बोहरा, २४ वर्षीय बस चालक बिरेन्द्र बोहरा, वडा नं. ७ का २८ वर्षीय नवराज रतौकी, २० वर्षीय सुरेन्द्र रतौकी रहेका छन्।
यसैगरी, पुर्चौडी नगरपालिकाकै वडा नं. १० का दामोदर महरा, धनबहादुर महरा, कृष्णपुर नगरपालिका-४ का २५ वर्षीय दिनेश साउँद, वडा नं. ५ की ६५ वर्षीय धनमती साउँद, डडेल्धुरा आलिताल गाउँपालिका-१ का २१ वर्षीय मुकुन्द बोहरा घाइते भएका छन्। घाइतेहरुको डडेल्धुरा जिल्ला अस्पतालमा उपचार भइरहेको छ।
जिल्ला प्रहरी कार्यालय डडेलधुराका अनुसार उद्धार कार्य जारी रहेको छ। भने घाइते तथा मृतकहरूको सङ्ख्या बढ्न सक्ने अनुमान गरिएको छ।
