छुट्टाछुट्टै सवारी दुर्घटनामा सात जनाको मृत्यु

359
0
Share:

 

काठमाडौं : छुट्टाछुट्टै सवारी दुर्घटनामा सात जनाको मृत्यु

डडेल्धुरा, अमरगढी नगरपालिका-७ खस्रेखानस्थित सडकमा महेन्द्रनगरबाट बैतडी पुर्चौडीतर्फ जाँदै गरेको ना.८ ख १०७८ नम्बरको बस अनियन्त्रित भई सडकबाट करिब ३ सय मिटर तल खसेर गए राति दुर्घटना हुँदा बसमा सवार ४ जनाको मृत्यु भएको छ । दुर्घटनामा बैतडी पुर्चौडी नगरपालिका-३ बस्ने ४५ वर्षीया जैमती बोहरा, २१ वर्षीय सहदेव बोहरा, उनकै श्रीमती २० वर्षीया कमला बोहरा र उनकै नाबालक छोराको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको डडेल्धुरा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका १२ जना मध्ये १० जनालाई थप उपचारको लागि धनगढी कैलालीतर्फ पठाइएको छ भने २ जनाको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ ।

सिन्धुली, मरिण गाउँपालिका-७ ठाँटीस्थित सडकमा सिन्धुलीबाट छापतर्फ आउँदै गरेको बा.८६ प ६०३१ नम्बरको मोटरसाइकल अनियन्त्रित भई मंगलबार दिउँसो दुर्घटना हुँदा चालक मरिण गाउँपालिका-७ बस्ने १८ वर्षीय संदिप स्याङतानको  मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको प्राथमिक स्वास्थ्य केन्द्र कपिलाकोटमा उपचारको क्रममा मृत्यु भएको हो ।

मुस्ताङ, घरपझोङ गाउँपालिका-२ सामाग्रीस्थित सडकमा बेनिबाट जोमसोमतर्फ आउँदै गरेको बा.७६ प ४२१० नम्बरको मोटरसाइकललाई ना.१ च ७६९२ नम्बरको कारले मंगलबार दिउँसो ठक्कर दिँदा मोटरसाइकल चालक गोरखा घर भई काठमाडौं बस्ने ३३ वर्षीय संजय खड्काको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल जोमसोममा उपचारको क्रममा मृत्यु भएको हो  । कार चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

कैलाली, भजनी नगरपालिका-७ चर्रास्थित सडकमा से.१ त १७८६ नम्बरको ट्याक्टर र से.६ प १०६१ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई मंगलबार साँझ दुर्घटना हुँदा मोटरसाइकल चालक कैलारी गाउँपालिका-५ बस्ने २३ वर्षीय आशिष कुमार चौधरीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको नवजिवन अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

कमेन्ट गर्नुहोस्
Share: