
पोखरा। कास्कीको पोखरा महानगरपालिकाले कर्मचारी परिचालन तथा व्यवस्थापनका सम्बन्धमा देखिएका समस्या समाधानका लागि समिति गठन गरेपछि नेकपा एमालेले विरोध जनाएको छ। नगरप्रमुख स्तरीय निर्णयले समिति बनाए पनि एमालेका जनप्रतिनिधिले सो निर्णयको विरोधमा महानगरपालिकाको कार्यालयमा नाराबाजी गरिरहेका छन्।
कात्तिक १४ गते बसेको ३७ औं कार्यपालिका बैठकबाट करारका ३५ कर्मचारी हटाउने निर्णय गरेपछि एमाले महानगर विरुद्ध आन्दोलित भएको हो। लोकसेवा आयोगबाट स्थायी कर्मचारी पदपुर्ति भएपछि कार्यपालिकाले २८ प्राविधिक, ७ शिक्षिका र सामाजिक परिचालिका हटाउने निर्णयगरेको थियो। उक्त निर्णय राजनीतिक पूर्वाग्रहपूर्ण भएको आरोप लगाउदै एमालेले प्रदर्शन गरिरहेको हो।
कात्तिकसम्मको तलव र चाडपर्व खर्च दिएर उनीहरुलाई मंसिर १ देखि विदा गर्ने निर्णय महानगरले गरेको थियो। जसमा मेयर आचार्यको एकलौंटी निर्णय नमान्ने भन्दै एममालेका जनप्रतिनिधिले विशेष नगर सभाकै माग गरिरहेका छन्।
३७ औं कार्यपालिका बैठकले करारमा रहेका २८ जना प्राविधिक हटाउने निर्णय गरेपछि एमालेका जनप्रतिनिधिले विभिन्न माग राखेर आन्दोलन गर्दै आइरहेका छन्।
