
पोखरा। सामाजिक क्षेत्रमा क्रियाशिल युनाइटेड किङ्स क्लब पोखराले देउसी भैलोबाट संकलितमध्ये केही रकम वृद्धाश्रम र मृगौला पीडितलाई सहयोग गरेको छ। क्लबले पोखरा महानगरपालिका-२७ स्थित श्रीकृष्ण प्रणामी मन्दिरमा आश्रित वृद्धवृद्धा तथा बालबालिकाका लागि ५० हजार बराबरको खाद्यान्न तथा शैक्षिक समाग्री सहयोग गरेको हो।
मन्दिरका संरक्षक कल्याण कार्की तथा व्यवस्थापन समितिका सचिव तिलक अधिकारीलाई कार्यक्रमका संयोजक थमन सिंह गुरुङ क्लबका अध्यक्ष धिरज गुरुङ, कोषाध्यक्ष कुमार गुरुङ, गण्डकी प्रदेश भलिबल संघका कार्यवहाक अध्यक्ष राजेन्द्र क्षेत्री, कास्की जिल्ला भलिबल संघका कोषाध्यक्ष बुद्ध सिंह, क्लबका सदस्यहरु लगायतले सहयोग सामाग्री हस्तान्तरण गरे।
सो अवसरमा बोल्दै मन्दिरका संरक्षक कल्याण कार्कीले क्लबको सहयोगप्रति आभार प्रकट गरे।
उनले मन्दिर अन्तरगत सञ्चालनमा रहेको आश्रममा १० जना वृद्धवृद्धा र १० जना बालबालिका गरी कुल २० जना आश्रित रहेको बताए। कार्कीले उक्त आश्रमबारे धेरैलाई थाहा नपाएकाले अन्य आश्रमको तुलनामा सहयोगीदाताहरु पुग्न नसकेको सुनाए।
यसैगरी क्लबले स्याङ्जाको विरुवा गाउँपालिका-२ घर भई हाल पोखरा-१४ मझेरी पाटन बस्दै आएकी मृगौला पीडित शान्तिकुमारी गुरुङलाई नगद १० हजार सहयोग प्रदान गरेको कार्यक्रम संयोजक थमनसिं गुरुङले जानकारी दिए। उनले यसअघि पनि आफ्नै पहलमा संकलित रकम १ लाख ३५ हजार सहयोग गरिसकेको बताए।
‘उहाँ लामाे समयदेखि उपचाररत हुनुहुन्छ। उहाँको उपचारको क्रममा धेरै खर्च भइसकेको छ,’ उनले भने, ‘त्यसैले हाम्रो क्लबको तर्फबाट सानै भएपनि सहयोग गरेका हौं।’ क्लबले तिहारको अवसरमा देउसीभैलो कार्यक्रम आयोजना गरेको थियो।
उक्त कार्यक्रमबाट संकलित रकम कोषमा राखिएको कोषाध्यक्ष कुमार गुरुङले बताए। गत वर्षमात्रै स्थापना गरिएको क्लबले यसअघि रक्तदान कार्यक्रम, भेट्रान्स भलिबल प्रतियोगिता तथा विभिन्न सचेतनामूलक कार्यक्रमहरु आयोजना गरिसकेको छ।

