
काठमाडौँ। कञ्चनपुरको भीमदत्त नगरपालिका–६ मा हुन गइरहेको स्थानीय तहको उपनिर्वाचन रोचक हुने देखिएको छ। साझेदार दलहरू नेपाली कांग्रेस र नेकपा एमालेले काका–भतिजालाई वडाध्यक्षका रुपमा अघि सारेकाले उपनिर्वाचन रोचक हुने भएको हो।
आगामी मंसिर १६ हुने उपनिर्वाचनमा वडाध्यक्ष पदका लागि एमालेले बहादुर चन्द र कांग्रेसले प्रकाश चन्दलाई उम्मेदवार बनाएको छ। दुवैजना चुनावी प्रचार–प्रसारमा लागिसकेका छन्।
एमाले उम्मेदवार बहादुर चन्द र कांग्रेस उम्मेदवार प्रकाश चन्द एकाघरका काका-भतिजा हुन्। कांग्रेस उम्मेदवार प्रकाशका बुवा धनबहादुर र एमाले उम्मेदवार बहादुर दाइभाइ हुन्।
धनबहादुर र उम्मेदवार बहादुर प्रताप चन्दका छोरा हुन्। एमाले उम्मेदवार बहादुर सेवानिवृत्त शिक्षक हुन्। उनी केही समयअघि स्थानीय शान्ति निकेतन माविको प्रधानाध्यापकबाट सेवानिवृत्त भएका थिए । उनले उक्त स्कुलमा ४१ वर्षसम्म पढाएका थिए।
कांग्रेसले अघि सारेका वडाध्यक्षका उम्मेदवार प्रकाश पार्टीका वडा सभापति हुन्। उनले भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) बाट कांग्रेसको राजनीति गर्दै आएका छन् ।
नेविसंघ कञ्चनपुरको सचिव भइसकेका प्रकाश ०६४ सालमा महेन्द्रनगरको सिद्धनाथ बहुमुखी क्याम्पसमा स्ववियु (स्वतन्त्र विद्यार्थी युनियन) सभापतिका उम्मेदवार थिए।
दाइका छोरासँग चुनावी प्रतिस्पर्धामा उत्रिएका एमाले उम्मेदवार बहादुर चन्दले उपनिर्वाचनका लागि आफूहरू मात्रै पात्र भएको प्रतिक्रिया दिए। उनले श्रीमान-श्रमितीको समेत विचार अलग–अलग हुने तर्क गर्दै काका-भतिजाको उम्मेदवारीलाई स्वाभाविक रुपमा लिएको बताए।
