
काठमाडौँ। एक्कासी पहिरो खसेपछि दार्चुला-बैतडी जोड्ने सडक अवरुद्ध भएको छ। मोड सुधारको काम चलिरहेको दशरथचन्द राजमार्ग अन्तर्गत पाटन नगरपालिका-४ जेउडेमा पहिरो खसेको हो।
मोड सुधारको काम भइरहेको ठाउँमा डोजरले खन्दा माथिबाट पहिरो खसेको बताइएको छ। सडक अवरुद्ध हुँदा सवारी साधन बीचबाटोमै अलपत्र परेका छन्। यस्तै चमेलिया विद्युत आयोजनाको १५० वाटको टावर समेत धरापमा परेको छ।
जेउडेमा एक महिना अघिदेखि मोड सुधारको काम भइरहेको भएपनि आइतबार साँझ साढेपाँच बजेतिर सुख्खा पहिरो खसेको सडक डिभिजन कार्यालय बैतडीका प्रमुख लक्ष्मणदत्त जोशीले बताए।
उक्त सडकमा केशर कन्सट्रक्सनले मोड सुधारको काम गर्दै आएको छ। आइतबार साँझ पहिरो खसेपछि सडक पूर्ण रुपमा अवरुद्ध भएको छ। एक्कासी पहिरो खस्दा स्थलगत निरीक्षणमा खटिएका कर्मचारी ज्यान जोगाएर भाग्न सफल भएको सडक डिभिजन कार्यालय पाटन, बैतडीका प्रमुख जोशीले बताए।
रातिको समयमा पहिरो पन्छ्याउन नसकिएपछि आज बिहानैदेखि पहिरो पन्छ्याउने काम शुरु हुने जोशीले बताए। हिजोदेखि सडक अवरुद्ध हुँदा तराईबाट बैतडी र दार्चुलाका लागि छुटेका गाडी तथा बैतडी र दार्चुलाबाट तराईका लागि छुटेका गाडीहरु बीचबाटोमै रोकिएका छन्।
पहिरो निरन्तर खसिरहेकाले रातिको समयमा काम गर्न नसकिएको आज पहिरो पन्छ्याउने काम हुने जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख, प्रहरी नायव उपरीक्षक मकेन्द्र कुमार मिश्रले बताए।
