छ दिन थपियो गण्डकी प्रदेश महोत्सव

Share:

पोखरा। नवलपुरको गैँडाकोटमा सञ्चालन भइरहेको गण्डकी प्रदेश महोत्सव छ दिन थप गरिएको छ। मंसिर १० गतेसम्म सञ्चालन हुने भनिएको महोत्सव मंसिर १६ गतेसम्म थप गरिएको महोत्सव मूल समिति संयोजक एवम् नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेशका अध्यक्ष अमृत भट्टचनले जानकारी दिए।

“महोत्सव अवलोकन गर्न आउने दर्शकहरुको उपस्थिति बढ्दै गएको र अझै धेरै आउन बाँकी रहेकाले महोत्सव सञ्चालन हुने अवधि छ दिन थप गरेका हौँ” भट्टचनले भने, “सुरुआती समयमा आउन नपाएका दर्शकहरुलाई मध्यनजर गर्दै थपिएको समयमा सबैलाई महोत्सव अवलोकनका लागि आग्रहसमेत गर्दछु।”

सार्वजनिक बिदाको दिन, शनिबार तथा सोमबार महोत्सव स्थलमा दर्शकहरुको उपस्थिति राम्रो रहेकाले महोत्सव छ दिन थप गरिएको उनको भनाइ छ। कात्तिक २६ गतेदेखि सञ्चालन भएको दोस्रो संस्करणको महोत्सव परिसरमा निर्माण गरिएको नेपालकै पहिलो अन्डरवाटर फिस टनेल एवम् जनजातिहरुको सांस्कृतिक घरले दर्शकहरुलाई आकर्षण गर्दै लगेको बताए।

सांस्कृतिक घर अवलोन गर्ने दर्शकहरुले थारु, मगर, गुरुङ,तामाङ र चेपाङको संस्कृतिबारे चासो राख्दै उनीहरुको परम्परागत परिकारको स्वादसमेत लिने गरेका उनले बताए।

यस महोत्सवमा औद्योगिक तथा व्यापार मेला, हस्तकला मेला, कृषि मेला, पुष्पमेला, अटोमेला, सूचना तथा प्रविधिहरुको प्रदर्शनी, दैनिक उपभोग्य वस्तु तथा घरायसी सामानहरु, लत्ताकपडा सामानलगायतका तीन सयभन्दा बढी स्टलहरु रहेका मूल संयोजक भट्टचनले जानकारी दिए।

यसैबीच, आज महोत्सवको १० हजार बढी दर्शकले अवलोकन गरेका उनले बताए। गण्डकी प्रदेशलाई मेलामार्फत जोड्न तथा पर्यटन प्रवद्र्धन गर्नका लागि यो महोत्सव आफैमा महत्वपूर्ण भएको उनको दाबी छ।

एक करोड ३० लाख रुपैयाँ भन्दा बढीको आर्थिक कारोबार हुने लक्ष्य राखिएको महोत्सव प्रवेशका लागि रु ८० तथा विद्यार्थीको लागि रु ६० को टिकट एवम् ७० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई निःशुल्क प्रवेशको व्यवस्था मिलाइएको उनले बताए।

महोत्सवको सांस्कृतिक कार्यक्रम अन्तर्गत आज वर्षा थापा, दुर्गेश थापा, रवि राना, दीपा थापालगायतका कलाकारहरुको प्रस्तुति रहेको महोत्सव सांस्कृतिक कार्यक्रम सहसंयोजक किशोर लम्सालले जानकारी दिए।

महोत्सवको सांस्कृतिक कार्यक्रममा सोमबार हाउडे माया (सिर्जना खत्री), ऋतु थापा, लालुमाया कुँवर, मधु परियार, प्रियंका भण्डारी, रवि राना, गोकुल कँडेललगायतको प्रस्तुती रहने लम्सालले बताए। नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेशको आयोजनामा सञ्चालन भएको महोत्सवको व्यवस्थापन राजधानी अम्युजमेन्ट राइड्स नेपालले गरेको छ।

कमेन्ट गर्नुहोस्
Share: