
काठमाडौँ। राष्ट्रिय तथा अन्तर्राष्ट्रियरुपमा सर्वाधिक चर्चा बटुलेको नेपाल प्रिमियर लिग (एनपीएल) फ्रेन्चाइज क्रिकेट प्रतियोगिता आजदेखि राजधानीमा अहिले एकछिनपछि सुरु हुँदैछ।
नेपाल क्रिकेट सङ्घ (क्यान)को आयोजनामा आगामी पुस ६ गतेसम्म सञ्चालन हुने पहिलो संस्करणको उक्त प्रतियोगितामा विभिन्न आठ टोलीको सहभागिता रहेको छ।
स्वदेशी तथा विश्व चर्चित खेलाडीको आगमनले पनि एनपीएलले बजारमा निकै चर्चा पाएको हो। त्यसो त दुलही झैँ सिङ्गारिएको कीर्तिपुरस्थित त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानको चर्चा पनि उत्तिकै छ।
कीर्तिपुरमा बिहानैदेखि क्रिकेटप्रेमीहरूको चहलपहल छ। अहिले मैदान प्रवेश हुने क्रम जारी छ।
दर्शकहरूको आउने क्रम जारी छ। केही मैदान प्रवेश गरिसकेका छन्। उद्घाटन खेलको टिकट तीन दिनअघि नै सबै बिक्री भइसकेको थियो।
अग्रिम टिकट लिएकाहरू लामबद्ध भएर मैदान प्रवेश गरिरहेका छन्।
