पोखरामा आइटिएफ जे३० जारी, आज पाँचौ दिन, ब्वाइज र गल्स डबल्स फाइनल सम्पन्न

Share:

पोखरा। पोखरा रंगशालास्थित टेनिस सेन्टरमा जारी सर्किट १ आइटिएफ जे३० वल्र्ड टेनिस टुरतर्फ बिहीबार सिंगल्सतर्फका सेमीफाइनल खेलहरु निकै रोमाञ्चपूर्ण रुपमा सम्पन्न भएका छन्।

कास्की जिल्ला टेनिस संघको आयोजनामा प्रतियोगिताको पाँचौ दिन विश्वभरका खेलाडीहरू आफ्नो उत्कृष्ट प्रदर्शन प्रस्तुत गर्दै तीव्र प्रतिस्पर्धा उत्रिए भने नेपाली खेलाडीहरूले समेत् उत्कृष्ट छाप छोडे।

यसैक्रममा नेपाली खेलाडी सुनिरा थापा गल्छ सिंगल्सतर्फ सानदार प्रदर्शनका साथ फाइनलमा प्रवेश गरिन्। उनले भारतकी सगुन कुमारीलाई ६-३, ३-६, ७-५ ले पराजित गर्दै फाइनलमा जारी प्रतियोगितामा सहभागी शीर्ष वरीयताकी भारतीय खेलाडी महिका खन्नासँग भेट पक्का गरिन्।

सुनिरासँग फाइनलमा भेट पक्का गरेकी महिकाले मंगोलियाकी मार्ता छोगसोमजव विरुद्ध कडा चुनौतीलाई पार गर्दै कठिन जित दर्ता गरिन्। उनले मार्तालाई ७-६ (३), १-६, ६-४ ले पराजित गरिन्।

ब्वाइज सिंगल्समा नेपाली खेलाडी आरभ सम्राट हाडा सेमीफाइनलबाट बाहिरिएका छन्। उनी भारतिय खेलाडी आश्रव्य मेहरासँग सोझो ६-१, ६-२ ले स्तब्ध बने। यस्तै हैनुओ गुओ (चीन) ले रोमाञ्चक तीन सेटको खेलमा प्रतीक नविन (अस्ट्रेलिया) लाई ७-६ (८), ५-७, ६-३ ले पराजित गर्दै जित दर्ता गरे।

ब्वाइज र गल्स डबल्स फाइनल सम्पन्न

प्रतियोगिताको पाँचौ दिन ब्वाइज र गल्सका फाइनल खेलहरु सम्पन्न भएका छन्। ब्वाइज डबल्सतर्फ भारतीय जोडी ओजस मेहलावत र अधिराज ठाकुरले आफ्नै देशका प्रतिस्पर्धी आदित्य मोर र प्रकाश सरणलाई ६-२, ६-१ को सजिलो जित दर्ता गर्दै उपाधि आफ्नो नाम गरे।

यस्तै गल्र्सतर्फको फाइनल खेल भने निकै रोमाञ्चपूर्ण रह्यो। भारतीय जोडी दिशा बेहेरा र अर्जन खोराकीवालाले आफ्नै देशका प्रतिस्पर्धी महिका खन्ना र एन्जेल पटेललाई रोमाञ्चक खेलमा ६-३, २-६, (१०-५) ले पराजित गर्दै उपाधि जिते।

प्रतियोगिता अन्तर्गत भोली (शनिबार) बाट गल्र्सरब्वाइजतर्फका फाइनल खेलहरु सम्पन्न हुनेछन् भने भोलीबाटै सर्किट-२ अन्तर्गतका क्वालिफाइङ राउण्डका खेलहरु समेत सुरु हुने टुर्नामेन्ट डाइरेक्टर अजय विष्टले जनाएका छन्।

ब्वाइजतर्फ क्वालिफाइङ राउण्डतर्फ विभिन्न देशका २७ र गल्र्सतर्फ ८ जना छन्। मेन ड्रमा भने दुवैतर्फ २८-२८ जना छन्। दुई दिन सम्म चल्ने क्वालिफाइङ खेलबाट ४-४ जना मेन ड्रका लागि छनोट हुने छन्। मेन ड्रका लागि भने नेपाली ४ जना खेलाडीहरुले सोझै प्रवेश पाइसकेका छन्।

कमेन्ट गर्नुहोस्
Share: