
पोखरा। पोखरा उद्योग वाणिज्य संघअन्तर्गतको संचालित सामाजिक विकास केन्द्रले विभिन्न ४७ वटा सामुदायिक विद्यालयमा अध्ययनरत ३ सय ६५ जना विद्यार्थीलाई न्यानो कपडासहित स्टेसनरी सामान वितरण गरेको छ।
सामाजिक विकास केन्द्रका अध्यक्ष तथा पोखरा उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष राजेन्द्रकुमार लालचनका अनुसार जीविकोपार्जन तथा शिक्षा परियोजनामार्फत् किडासाको आर्थिक सहयोगमा विद्यार्थीहरुलाई स्वेटर,स्टेसनरी सामग्री एवं ट्रयाकसुट वितरण गरिएको हो।
पोखरा महानगरभित्रका सरकारी विद्यालयका विद्यार्थी लक्षित यो कार्यक्रमबाट विद्यार्थीलाई प्रोत्साहन मिल्ने पनि उनले बताए। विद्यार्थीहरुलाई अध्यक्ष लालचनसहित पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्कीसहितले ती सामग्री हस्तान्तरण गरेका सामाजिक विकास केन्द्रका सुपरभाइजर सफल बरालले बताए।
कार्यक्रममा बोल्दै पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्कीले बालबालिकाहरु विद्यालय बाहिर नरहून् तथा निकृष्ट श्रममा बालबालिकाको प्रयोग नहोस् भन्नेमा सबैले ध्यान दिनुपर्ने बताए।
