
काठमाडौँ । कीर्तिपुरमा जारी एनपीएलमा कर्णाली याक्सले पोखरा एभेन्जर्सलाई पराजित गरेको छ। त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा मंगलबार भएको खेलमा कर्णालीले पोखरालाई ७ विकेटले हराएको हो। कर्णालीको यो तेस्रो जित हो । पोखराको यो तेस्रो पराजय हो।
कर्णालीले प्ले अफ सम्भावना बलियो बनाएको छ। यता, पोखराले भने लुम्बिनी लायन्सलाई १० विकेटले हराएको जितको लय कायम राख्न नसक्दा चितवनको प्ले अफ सम्भावना भने कमजोर बनेको छ।
पोखराले दिएको १०४ रनको सामान्य लक्ष्य कर्णालीले १५ ओभरमा ३ विकेटको क्षतिमा पूरा गरेको हो। कर्णालीका लागि च्याडविक वाल्टनले ४२ रन बनाए। गुल्शन झा ४९ रनमा अविजित रहे।
पोखराका लागि विपिन खत्री, च्याडविक वाल्टन र कुशल भूर्तेलले १–१ विकेट लिए। यसअघि ब्याटिङ गरेको पोखराले पूरै २० ओभर खेलेर ६ विकेटको क्षतिमा १०३ रन बनाएको थियो।
पोखराका लागि ओपनरद्वय दिनेश खरेलले २६ र एन्ड्रिज गौसले २५ रन बनाए । रेमन रेफरले २० रन बनाए । अन्य ब्याटरले गतिलो प्रदर्शन गर्न सकेनन्।
कर्णालीका लागि घातक बलिङ गरेका विलियम बोसिस्टोले ४ ओभरमा ३१ रन खर्चेर ६ विकेट लिए । कप्तान सोमपाल कामी, यूनिस ठाकुर र विपिन शर्माले १–१ विकेट लिए।
यस्तै आजको आजको पहिलो खेलमा लुम्बिनी लायन्स विजयी भएको छ । लुम्बिनीले चितवन राइनोजलाई ३३ रनले पराजित गर्दै जारी एनपिएलमा आफ्नो पहिलो जित निकाल्यो। लुम्बिनी लगातार चार खेलमा पराजित भएको थियो।
लुम्बिनीको जितमा कप्तान रोहित कुमार पौडेलले उत्कृष्ट अलराउण्ड प्रदर्शन गरे। ब्याटिङमा अर्धसतक प्रहार गरेका उनले बलिङमा पनि ४ विकेट हात पारे।
लुम्बिनीले दिएको एक सय ६८ रनको लक्ष्य पछ्याएको चितवनले ओभरमा ८ विकेट गुमाएर एक सय ३४ रन बनायो । चितवनका लागि लुक बेनकेनस्टेनले सर्वाधिक ३१ रन बनाए। यस्तै नर बहादुर शार्कीले २२, कुशल मल्लले २०, रिजन ढकालले १५, रवि बोपाराले १२ तथा सन्तोष कार्कीले १० रन बनाए।
लुम्बिनीका लागि कप्तान पौडेलले ४ विकेट लिए। यस्तै रेमन सिमन्ड्सले दुई तथा साद बीन जाफर र अभिशेष गौतमले समान एक एक विकेट लिए । यसअघि त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको लुम्बिनीले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर एक सय ६७ रन बनाएको थियो।
सुरुवातमै विकेट गुमाएर लुम्बिनीका लागि कप्तान रोहित कुमार पौडेलले सम्हालिएर ब्याटिङ गर्दै पारीलाई अगाडि बढाएका थिए। ४९ रनमा चौथो विकेट गुमाएको लुम्बिनीका रोहित र साद बीन जाफरले पाँचौ विकेटका लागि ११४ रनको साझेदारी गरे।
कप्तान पौडेलले ५७ बलमा ६ चौका र ५ छक्का प्रहार गर्दै ८० रन बनाए। यस्तै जाफरले ३५ बलमा ४ चौका र १ छक्का प्रहार गर्दै ५२ रन बनाए। अर्जुन साउदले १५ रन बनाए। लुम्बिनीले सुरुवाती दुई ओभरमा २ रन बनाउँदा २ विकेट गुमाएको थियो।
चितवनका रिजन ढकालले ३ विकेट लिए। यस्तै कप्तान कुशल मल्ल र रंजित कुमारले समान एक एक विकेट लिए।
