पर्वतमा दुई दिनमा १४ जना फरार प्रतिवादी पक्राउ

Share:

काठमाडौँ । जिल्ला प्रहरी कार्यालय पर्वतले दुई दिनको अवधिमा १४ जना फरार प्रतिवादीहरूलाई नियन्त्रणमा लिएर अदालतमा पेस गरेको छ। जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायव उपरीक्षक रविन विष्टका अनुसार पुस एक र दुई गते मात्रै विभिन्न मुद्दाका फरार प्रतिवादीहरूलाई नियन्त्रणमा लिएर फैसला कार्यान्वयनका लागि पर्वत जिल्ला अदालतमा पेस गरिएको हो।

पक्राउ परेकाहरूमा केही सार्वजनिक अपराधमा जलजला गाउँपालिका-६ का कृष्णबहादुर परियार, फलेवास नगरपालिका-२ का सरोज परियार, पैयुँ गाउँपालिका-६ का शिवलाल गिरी, बिहादी गाउँपालिका-३ कुल बहादुर कुमार, मोदी गाउँपालिका-४ का देव बहादुर पुन, जलजला गाउँपालिका–२ का नगेन्द्र बोहरा र फलेवास नगरपालिका–३ का प्रकाश सुनार रहेका छन्।

यस्तै, चेक अनादर मुद्दामा रसुवाको उत्तरगंगाका मङ्गले तामाङ, धादिङको नीलकण्ठका खेमलाल बराइली, पर्वतको मोदी गाउँपालिका-५ की लक्ष्मी कुमारी शर्मा, कुश्मा नगरपालिका-६ का सूर्यबहादुर थापा, कुश्मा नगरपालिका-११ की गीता कुमारी शर्मा पक्राउ परेका छन्।

यस्तै, कृते नागरिकतामा कुश्मा नगरपालिका-१ का मन बहादुर खड्का थोकी र भ्रष्टाचारमा महाशिला गाउँपालिका-२ की गीतादेवी गुरुङ पनि पक्राउ परेका छन्। अदालतबाट कैद तथा जरिवाना तोकिएकोमा वारदात पश्चात् फरार रहेका प्रतिवादीहरूलाई जिल्ला प्रहरी कार्यालय र मातहतका प्रहरी युनिटहरूबाट खटिएको प्रहरी टोलीले खोजतलासपछि पक्राउ गरी फैसला कार्यान्वयनको लागि पर्वत जिल्ला अदालतमा पेस गरेको छ।

कमेन्ट गर्नुहोस्
Share: