गुणस्तरमा कुनै सम्झौता हुँदैन : जिसस प्रमुख पौडेल

Share:

पोखरा । जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलले विकास निर्माणमा तोकिएको समय र गुणस्तरमा कुनै सम्झौता नहुने बताएका छन्।

कास्कीको मादी गाउँपालिकास्थित पर्यटकीय गाउँ सिक्लेसमा सुरु भएको संस्कृतिक ग्राम पर्यटन पूर्वाधार निर्माण योजनाको स्थलगत अध्ययन अवलोकनका क्रममा उनले सम्झौता अनुसार निर्माण व्यवसायीले काम गर्नु पर्ने आवश्यकता औँल्याए।

विकास निर्माणमा ढिला सुस्ति र गुणस्तर नहुने भन्दै उनले योजना सम्पन्न गर्न तीनै तहका सरकार जिम्मेवार भएर लाग्नु पर्ने बताए। संस्कृतिक ग्रामको योजनाले यस क्षेत्रको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण सहयोग पुग्ने प्रमुख पौडेलको भनाई थियो।

नेपाल सरकार संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्रालय पर्यटन पुर्वाधार एवम् पर्यटन उपज विकास साझेदारी कार्यक्रम अन्तर्गत कूल तीन करोड सात लाख ८३ हजार १८५ को लागतमा मुक्तिनाथ प्राकृतिक जेभीले निर्माणको जिम्मा लिएको हो।

नेपाल सरकारको ७० प्रतिशत र मादी गाउँपालिकाको ३० प्रतिशतको साझेदारीमा निर्माण गरिने संस्कृतिक ग्राम अन्तर्गत ६४ वटा सिसि टिभि जडान, नमुन घर, पुरै गाउँलाई समेटेर विद्युत लाईन विस्तार, नयाँ सिडी बाटो निर्माण कार्य अन्तिम चरणमा पुगेको वडा अध्यक्ष देवीजंङ्ग गुरुङले जानकारी दिए।

सम्झौता अनुसार ५०० मध्ये २४० विद्युतपोल प्रयोग भएको छ भने नयाँ सिडी बाटोको काम करिव सम्पन्न हुने अवस्थामा पुगेपनि स्थानीय कच्चा पदार्थ प्रयोग गरेर स्तरोन्नती गरिने सिडी बाटो, डष्विन, सुचना बोर्ड राख्ने काम नभएको उनको भनाई छ।

आगन्तुक पाहुना एवम् स्थानीय व्यवसायिको सुरक्षाका लागि गाउँभरी सिसि टिभि जडान गरिएका छन्, वडा कार्यालयमा राखिएको मनिटरमा सवै गतिविधि रेकर्ड गर्ने हुँदा सुरक्षामा सुविधा पुगेको बताउँदै उनले भने, संस्कृति ग्राम योजना सम्पन्न भएसंगै आन्तरिक एवम् बाह्रय पर्यटकको आकर्षण बढने विश्वास छ।

जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलको नेतृत्वमा उप-प्रमुख सरिता कुमाल, समन्वय अधिकारी नवराज बराल, प्राविधिक, पत्रकार सहितको स्थलगत अनुगमनमा पुगेको टोलीलाई गाउँपालिकाका सवइन्जिनियर राजु ढकालले योजना अन्तर्गत भएगरेको गतिविधिबारे जानकारी गराएका थिए।

निर्माण व्यवसायि ओम गौचनका अनुसार डिपिआर अनुसारको काम गर्न अप्ठेरो परेको बताए। लोकल ढुङ्गा प्रयोग गरेर पदमार्गको स्तरोन्नती गर्ने भएपनि उक्त स्थानमा उपयुक्त ढुङ्गा नरहेको सम्झौतामा ५०० विद्युत पोल रहेपनि २४० वटा पोलले पुरै गाउलाई पुगेको उनको भनाई छ।

शुरुमा नापजाँच हुँदा करिव ४० प्रतिशत काम सम्पन्न भई केही रकम भुक्तानी समेत लिएको बताउँदै उनले भने, पछिल्लो समय निर्माण कार्य अन्तिम चरणमा पुगे छ दावी गरे। पछिल्लो समय सिक्लेस कला, संस्कृति र अनुपम प्रकृतिका कारण स्वदेशी एवम् विदेशी पर्यटकको आकर्षण गन्तव्य बन्दै गएको छ।

संस्कृतिक ग्राम योजना सम्पन्न भएसंगै थप आकर्षण बढ्ने विश्वास छ। गुरुङ कला संस्कृतिको जीवन्त अनुभव गर्न पाइने समुद्री सतहबाट दुई हजार मिटरको उचाइमा रहेको यो मनोरम गाउँ अन्नपूर्ण दोश्रो र लमजुङ लगायतका हिमश्रृखलाको काँखमा अवस्थित छ।

कमेन्ट गर्नुहोस्
Share: