
पोखरा। लेखनाथ उद्योग वाणिज्य संघले पुस १८ देखि माघ १ गतेसम्म गर्न लागेको २० औं संस्करणको लेखनाथ महोत्सवमा झाँकी र्याली प्रदर्शन गरिने भएको छ। ‘महोत्सव लेखनाथको संस्कृति, स्थानीय उत्पादन, विकास र समृद्धि’ भन्ने नाराका हुने लागेको महोत्सवलाई भव्य बनाउन यस्तो तयारी भएको हो।
विगतमा जस्तै यस वर्ष पनि सबै जातजाति र समुदायको भेषभूषा र संस्कृति झल्कने गरी झाँकी र्याली प्रर्दशन गरिने भएको हो। महोत्सव उद्घाटनका दिन स्थानीय आमा समूह, टोल विकास संस्था, सामाजिक संघ, संस्थाका साथमा जातीय तथा धार्मिक संस्थाहरुको प्रतिनिधित्व हुने गरी मौलिक संस्कृति र जातीय भेषभूषाको पहिचान हुने गरी झाँकी र्याली प्रदर्शन गर्न लागिएको हो।
झाँकी र्याली प्रदर्शनी व्यवस्थापन उपसमिति संयोजक बुद्धिकुमारी थापामगरको अध्यक्षतामा भएको कार्यक्रममा लेखनाथ उद्योग वाणिज्य संघकी महसचिव जानुका अधिकारीले महोत्सव आयोजक उद्योग बाणिज्य संघ भए पनि यसमा सबैको साथ र सहयोगले उत्कृष्ट महोत्सवका रुपमा स्थापित भएकाले यस वर्ष पनि आफ्नै घर, आगनको पर्वका रुपमा लिइएर सहभागी हुनका लागि अनुरोध गरिन्।
सांस्कृतिक कार्यक्रम संयोजक मेजर रामप्रसाद गुरुङ, संघका प्रथम उपाध्यक्ष उपेन्द्रराज सुवेदी (राजु), उपमहासचिव भरतराज ओझा लगायतले कार्यक्रममा बोलेका थिए। महोत्सवमा कृषि उत्पादन, भाँडावर्तन, फर्निचर तथा इलेक्ट्रिकल, फेन्सी तथा गार्मेन्ट, हस्तकला, खाद्यान्न, राष्ट्रिय उत्पादन प्रदर्शनी, बैंक तथा वित्तीय संघ, डेरी तथा फलफूल, होटल तथा रेस्टुरेन्टका गरी ३ सय ३५ स्टल छन्।
