वुमन्स च्यालेन्जर कप : पहिलो दिन, अकला र विन्ध्यवासिनी विजयी

Share:

पोखरा। पोखरामा दोस्रो संस्करणको वुमन्स च्यालेन्जर कप टी२० क्रीकेट प्रतियोगिता सुरु भएको छ। कास्की जिल्ला क्रीकेट संघको आयोजनामा आजबाट प्रतियोगिता सुरु भएको हो। पोखरा रंगशालास्थित क्रीकेट मैदानमा पहिलो दिन टिम अकला र टिम विन्ध्यवासिनीले जित हासिल गरेको छ।

प्रतियोगिताको उद्घाटन खेलमा टिम अकलाले टिम बाराहीमाथि १० विकेटको जित हासिल गर्‍यो। ९८ रनको विजयी लक्ष्या पाएको टिम अकलाले ९.४ ओभरमा पुुरा गर्‍यो। ओपनर सिर्जना पौडेलले ३९ बलमा सर्वाधिक ४६ रनको योगदान दिइन्। सुुस्मिता श्रेष्ठले २९ बलमा १४ रन बनाउँदै अविजित रहिन्।

त्यस अघि टस जितेर ब्याटिङ थालेको बाराहीले १९.१ ओभरमा ९७ बनाउँदा अलआउट हुन पुग्यो। बाराहीका लागि रिया तामाङले २६ बलमा २४ रन बनाउँदै नटआउट रहिन्। यस्तै, रिया गुरुङले ११ रन जोडिन्। अकलाका लागि सिर्जना पौडेलले ३.१ ओभरमा १३ रन खर्चेर सर्वाधिक ४ विकेट लिइन्। सुशिला डिमडोङले १ विकेट लिइन्। सिर्जना खेलको प्लेयर अफ दी म्याच घोषित भइन्।

दोस्रो खेलमा विन्ध्यवासिनीले भद्रकालीलाई १ विकेटले हरायो। ८४ रनको विजयी लक्ष्य पाएको विन्ध्यवासिनीले १८.२ ओभरमा ९ विकेट गुमाउँदै जित हासिल गर्‍यो। खेलको प्लयेर अफ दी म्याच विन्ध्यवासिनीकी चन्द्रमाया बराल घोषित भइन्। उनले ४ विकेट लिइन भने ५ रन जोडिन। त्यस अघि टस जितेर ब्याटिङ थालेको भद्रकालीले १९.२ ओभरमा ८३ रन बनाउँदै अलआउट हुन पुग्यो।

उद्घाटन सत्रमा कास्की जिल्ला क्रीकेट संघका उपाध्यक्ष दिपेन्द्र चन्दले खेलाडीलाई आफ्नो खेल कौशल देखाउन आग्रह गरे। प्रधानमन्त्री कप महिला क्रीकेट प्रतियोगिता र दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि छनोट खेल समेत भएकाले छनोट हुने गरि प्रदर्शनी गर्न आग्रह गरे। उनका अनुसार प्रतियोगिता तीन दिनसम्म चल्ने छ।

कास्की जिल्ला स्तरीय छनोट भएका खेलाडीले प्रदेशको छनोट खेल्ने छ। राष्ट्रिय क्रीकेट टिमका लागि पहिलो खुुड्किलो भएकाले मिहेनतका साथ खेल्न उनको जोड थियो। कार्यक्रम सञ्चालन संघका सदस्य कमल थापाले गरेका थिए। प्रतियोगितामा कुल चार टिमको सहभागिता रहेको छ। दुुई दिन खुल्ला क्याम्प राखेर चार टिम बनाएको थापाले जानकारी दिए।

कमेन्ट गर्नुहोस्
Share: