माग्दीको बुक्लामा ट्रिपर दुर्घटना हुँदा चालक र सह-चालकको घटनास्थलमै मृत्यु

Share:

पोखरा। म्याग्दीमा आज ट्रिपर दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ। मृत्यु हुनेमा टिपर चालक भारतको उत्तर प्रदेश घर भएका ३३ वर्षका दशरथ यादव र सहचालक भारतको मध्यप्रदेशका ४० वर्षका शत्रुधन रजक छन्।

प्रहरीका अनुसार म्याग्दीको रघुगङ्गा गाउँपालिका वडा नं ४ बुक्लमा बीपी २-ए ७५६८ नम्बरको ट्रिपर दुर्घटना भएको हो। निर्माणाधीन राहुघाट जलविद्युत् आयोजनाको अडिट नं २ को सुरुङ जाने सडकबाट खस्दा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सागर पौडेलले जानकारी दिए।

गएराति करिब १ बजेदेखि काम गर्ने कार्य क्षेत्रबाटै बेपत्ता भएका उनीहरु आज बिहान खोजतलास गर्ने क्रममा दुर्घटनामा परेर मृत्यु भएको अवस्थामा भेटिएको र घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रहरी र जलविद्युत् आयोजना काम मजदुरको सहायताले दुर्घटना ग्रस्त ठाउँबाट शबलाई बाहिर निकालिएको छ।

नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रो लिमिटेडले निर्माण गर्न लागेको ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनामा भारतीय कम्पनी जयप्रकाश एसोसियट्स (जेपी) सिभिल ठेकेदार निर्माण गरिरहेको छ।

कमेन्ट गर्नुहोस्
Share: