
पोखरा । चीनको सिचुवान प्रान्तमा रहेको लुजाउ नगरका आर्थिक सहकार्य एवं परराष्ट्र मामिलाका उपप्रमुख चाङ जुहानसहितको प्रतिनिधि मण्डल र पोखरा उद्योग वाणिज्य संघको प्रतिनिधि मण्डलसँग शुक्रबार भेटघाट गरेको छ।
संघका अध्यक्ष गोकर्ण कार्कीका अनुसार संघको सचिवालय गैह्रापाटनमा भएको भेटघाट तथा छलफलको क्रममा द्विपक्षीय सहकार्य र संयुक्त लगानीको सम्भावना, व्यापार तथा पर्यटन प्रवद्र्धन लगायतका विषयमा छलफल भएको थियो।
सो अवसरमा प्रतिनिधि मण्डलका प्रमुख चाङले लुजाउ नगर औषधी तथा मदिरा उत्पादनमा अग्रणी रहेको जानकारी दिए। त्यहाँका उत्पादन नेपालमा निकासी गर्न तथा नेपालमा उत्पादित वस्तुहरु चीनको बजारमा पुर्याउनका निम्ति पोखरा उद्योग वाणिज्य संघसँग सहकार्य गर्न लुजाउ तयार रहेको पनि उनले बताए।
पोउवा संघका अध्यक्ष कार्कीले अघिल्लो वर्ष नेपालका प्रधानमन्त्री प्रचण्ड र हालै वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणको क्रममा भएका सहमति कार्यान्वयन हुँदा गण्डकीबाट भैंसीको मासु तथा अमिलो फलफूल निर्यात गर्न सकिने सम्भावनाबारे जानकारी गराए।
यी दुबै क्षेत्रमा चिनियाँ लगानी ल्याउन सकिने पनि उनको भनाइ छ। पोखराको पर्यटन उद्योगलाई सघाउन पनि उनले चिनियाँ टोलीलाई आग्रह गरे।
