
काठमाडौँ। कर्णाली नदीमा डोजर पल्टिँदा एक जना बेपत्ता भएका छन्। कालीकोटको पचालझरना-८ चाटेबगरबाट वडा नं ४ को जारकोटस्थित कर्णाली नदी पार गर्ने क्रममा शुक्रबार बेलुका डोजर पल्टिँदा डोजरसहित सहचालक नदीमा बेपत्ता भएका हुन्।
पचालझरना गाँउपालिका-८ चाटेबगरदेखि पचालझरना–४ जारकोट जाने क्रममा कर्णाली नदीमा डोजर पल्टिएपछि हो।
डोजरसहित एक जना बेपत्ता भएको र डोजर चालक नदीमा तैरिरहेको अवस्थामा प्रहरी र स्थानीयले उद्धार गरेको पचालझरना गाउँपालिका उपाध्यक्ष अल्किना बमले जानकारी दिइन्।
कालीकोट खाँडाचक नगरपालिका-८ का डोजर चालकको सकुशल उद्धार गरिएको र एक जना बेपत्ता भएको खबर आएको जिल्ला प्रहरी कार्यालय कालीकोटका सूचना अधिकारी गोविन्द चौधरीले बताए।
उनले भने, “चालकको सकुशल उद्धार गरिएको छ। सहचालक र डोजर अहिलेसम्म फेला पर्न सकेको छैनन्।”
बेपत्ता सहचालकको नाम र ठेगाना खुल्न नसकेको प्रहरीले खोजी जारी राखेको जिल्ला प्रहरी कार्यालय कालीकोटले जनाएको छ।
