
पोखरा। पोखरा स्पोर्टस एन्ड ब्याडमिन्टन क्लब पोखरा-१७ ले ६० वर्ष माथिको खुला मेन्स डबल्स तथा गण्डकी प्रदेश स्तरीय डबल्स ओपन ब्याडमिन्टन प्रतियोगिता गर्न लागेको छ। स्वास्थ्यका लागि खेलकुद भन्ने नाराका साथ पुस १८ गते देखि २० गतेसम्म प्रतियोगिता गर्न लागेको क्लब अध्यक्ष शंकर भट्टराईले बताए।
अध्यक्ष भट्टराईले पुरुष डबल्समा ए डिभिजन र बि डिभिजनका खेलाडीले भाग लिने जनाए। ब्याडमिन्टनको खेलको विकास र पोखरालाई खेलकुदको सहरका रुपमा विकास गर्ने उद्देश्यले गर्न लागेको प्रतियोगिताका लागि १० लाख ५७ हजार खर्च लाग्ने अनुमान गरिएको छ।
प्रतियोगिताले नयाँ खेलाडिलाई मौका तथा प्रोत्साहन हुने आयोजकको भनाइ छ। मेन्स डबल्स ओपन ए डिभिजनतर्फ प्रथम हुने खेलाडीले ४५ हजार, द्वितीय हुनेले ३० हजार र तृतीयले १५ /१५ हजार नगद पुरस्कार पाउने छन्।
मेन्स डबल्स ओपन बि डिभिजनतर्फ प्रथम हुनेले ३२ हजार, दोस्रोले २० हजार र तेस्रोले १०/१० हजार पुरस्कार पाउने छन्। मेन्स ६० वर्ष माथिको मेन्स डबल्सतर्फ प्रथम, द्वितीय र तृतीयले क्रमश ३०, २० र १०/१० हजार नगद पुरस्कार प्राप्त गर्ने क्लबले जनाएको छ। महिला डबल्समा प्रथम हुनेले २५ हजार, दोस्रो हुनेले १५ हजार र तेस्रो हुने दुई टोलीले ७ हजार ५ सयका दरले पुरस्कार पाउने छन्।
