
पोखरा । पोखरामा शनिबार आयोजित सातौँ टूर दी पोखरा साइकल र्याली सम्पन्न भएको छ। साइकल सिटी पोखराले ‘स्वास्थ्य, वातावरण र पर्यटन प्रवर्द्धनका लागि साइकल’ भन्ने मूल नाराका साथ साइकल र्याली आयोजना गरेको हो।
पोखराको सभागृहचोकबाट शुरु भएको साइकल र्याली पृथ्वीचोक, अमरसिंह चोक, रामबजार, महेन्द्रपुल, बगर, जिरो किलोमिटर, सृजनाचोक हुँदै पुनः सभागृहचोकमा पुगेर समापन भएको हो।
र्यालीमा पोखरा, स्याङ्जा, मुस्ताङ, काठमाडाैँ, भक्तपुर, ललितपुरसहित केही विदेशीसमेत गरी करिब पाँच सय साइकलिष्ट सहभागी थिए।
कार्यक्रम उद्घाटन गर्दै गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री बिन्दुकुमार थापाले स्वास्थ्य, वातावरण तथा पर्यटन प्रवर्द्धनका लागि साइकल र्यालीले महत्वपूर्ण सन्देश प्रवाह गर्ने बताए।
उनले साइक्लिङका माध्यमबाट इन्धनको बचत गर्न, मानव स्वास्थ्यलाई सधैँ चुस्त राख्न र यसका माध्यमबाट पर्यटन विकासमा टेवा पुर्याउन साइकल र्याली फलदायी हुने विश्वास व्यक्त गरे ।
साइकल सिटी पोखराका अध्यक्ष श्यामकृष्ण श्रेष्ठले स्वास्थ्य, वातावरण र पर्यटनका लागि पोखरामा सन् २०१२ देखि निरन्तर साइकल र्याली गर्दै आइरहेको जानकारी दिए।
उनले पर्यावरणको रक्षा, मानव स्वास्थ्यलाई सन्तुलित राख्न र साइक्लिङका माध्यमबाट गण्डकी प्रदेशको पर्यटन विकासमा सहयोग पुर्याउन कार्यक्रम आयोजना गर्ने गरिएको बताए।
मुस्ताङको घरपझोङ गाउँपालिका अध्यक्ष मोहनसिंह लालचनले पोखराको सन्देशले हिमालको पर्यटनमा योगदान दिने जानकारी दिए।
उनले मुस्ताङमा पनि पर्यटन विकासका लागि साइक्लिङ हबको सम्भावना रहेको दावी गरे । साथै यसप्रकारका कार्यक्रम हिमालसम्म जोड्नुपर्ने उनले बताए।
उक्त अवसरमा साइक्लिङ विधिमा योगदान दिएका विभिन्न व्यक्तित्वलाई सम्मान गरिएको थियो।
