
पोखरा। तीन दशक अघिको कुरा। घुम्न आएका विदेशी पर्यटक क्रिसमस मनाउन आफ्नै देश फर्कने क्रममा पोखरा छाडेपछि मुख्य पर्यटकीय केन्द्र लेकसाइड सुनसान हुन्थ्यो। आन्तरिक पर्यटकमा घुम्ने बानीको बिकास भइसकेको थिएन्।
मंसिर, पुस र माघ महिना ‘अफसिजन’ भएकाले लेकसाइडका प्रायः सवै होटल, रेष्टुरेन्टहरु बन्द हुन्थेँ। कुनै चहलपहल नभएपछि स्वयं पोखरेली पर्यटन ब्यवसायी व्यावसाय बन्द गरेर अंग्रेजी नयाँ वर्ष मनाउन भारतको गोवा पुग्थेँ। त्यहाँ हुने गोवा फुड एन्ड म्युजिक फेस्टिबलमा रमाएर फर्किन्थेँ। कतिपय त थाइल्यान्ड समेत पुग्थेँ।
तर अहिले अवस्था फेरिएको छ। यतिबेला पर्यटकीय शहर अंग्रेजी नयाँ वर्षको गन्तव्यस्थल बनिसकेको छ। त्यसैले पोखरा आसपास मात्र नभई पुरै नेपाल र विदेशबाटसमेत नयाँ वर्ष मनाउन ठूलो संख्यामा पर्यटकहरु आउने गरेका छन्। यसको श्रेय जान्छ, पोखरामा वर्षेनी एउटै तिथि मितिमा हुँदै आएको सडक महोत्सवलाई।
‘सडक महोत्सव पोखराको मात्र हैन, नेपालकै ब्रान्ड बनिसकेको छ,’ रेष्टुरेन्ट एन्ड बार एसोसियशन नेपाल पोखराका अध्यक्ष विश्वराज पौडेल भन्छन, ‘अव सडकमा हुने गतिविधिलाई थप परिस्कृत गर्दै अन्तराष्ट्रिय स्तरको बनाउनेतर्फ केन्द्रीत हुन्छौँ।’
सन् १९९६ मा तत्कालिन राजा बिरेन्द्र पोखरामा आएका थिए। त्यतिबेला उनले केही पर्यटन व्यवसायीसँग पोखराको पर्यटन प्रवद्र्धनका लागि चासो देखाउँदै बैंकको लगानी, दक्ष जनशक्तिबारे सोधेका थिए।
महोत्सवमार्फत पर्यटकलाई आकर्षित गर्ने कुरा राजा बिरेन्द्रलेसमेत गरेपछि रेवानले सडक महोत्सवको आयोजना गरेको संझिन्छन संस्थापक उपाध्याक्ष गणेश बहादुर भट्टराई।
यसअघि उनी पनि ४ पटकसम्म अंग्रेजी नयाँ वर्ष मनाउन भारतको गोवा पुगेका थिए। एकातिर गोवाको सिको र अर्कोतर्फ राजाले पनि चासो देखाएपछि पहिलोपटक काठमाडौँबाट ह्यान्डीक्राफ्ट एशोसियशनको ट्रेड फेयर ग्रुपमार्फत उनीहरुले उत्पादन गरेका हस्तकलाका सामान ल्याएर स्टलमा राखेर सन् १९९८ मा पहिलोपटक एकदिनमात्रै आयोजना गरिएको सडक महोत्सव अहिले सडकमैमात्र सिमित नरहेर राष्ट्रियरुप लिइसकेको भट्टराई बताउँछन।
‘गोवाको फुड एन्ड म्युजिक फेस्टीभलबाट प्रभावित भएका थियौं, त्यसैबेला राजा विरेन्द्रको पनि चासो रह्यो’ भट्टराइले भने, ‘भिजिट इयर १९९८, मिलेनियम वर्ष र राजा बिरेन्द्रको ५६ औं वर्षगाँठको अवसर पारेर बसुन्धरा पार्कमा एक दिनको फेस्टिबल सुरु गरेका थियौँ। सानोतिनो दौड, वेटर रेसबाट सुरु गरिएको महोत्सवले अहिले राष्ट्रिय रुप लिएको देख्दा खुशी लाग्छ।’
भट्टराइले पोखरा सबै जातजाति, भाषाभाषीको हो, सबै जातजाति मिलेर बसेका छन् भन्ने महोत्सवले सन्देश दिएको र पर्यटकलाई खानपिन, सांस्कृतिक मनोरञ्जन, कृषि तथा हस्तकलाका उत्पादनबाट लोभ्याउन सफल भएको बताए। यसले अर्थतन्त्र चलायमान बनाउन पनि सघाउ पुराएको भट्टराईको भनाइ छ।
अबका वर्षमा सडक महोत्सवलाई संस्कृति देखि कृषि र हस्तकलाका सामानको खुला प्रदर्शनीको रुपमा लैजानुपर्ने भट्टराईको भनाइ छ। ‘अब पोखरा सडक एक्स्पो फेस्टीबल’ को रुपमा यसलाई लैजानु पर्छ’ उनले भने, ‘सातै प्रदेश, ७७ वटै जिल्ला, सकिन्छ भने सबै पालिकाको कृषि, घरेलु, हस्तकला, आईटीलगायत उत्पादन, पर्यटकीय प्रोडक्टलाई महोत्सवमा प्रदर्शन गर्नुपर्छ। क्रेता र बिक्रेतालाई एकै ठाउँमा उभ्याउनु पर्छ। देशभरिकै पर्यटकीय गतिविधि समेट्नुपर्छ। र अर्थतन्त्र मजबुत बनाउनेतर्फ लाग्नुपर्छ।’
रेवान अध्यक्ष पौडेल अहिले महोत्सवमा पोखरासहित विभिन्न जिल्लामा उत्पादित हस्तकलाका सामाग्री, संस्कृति, भेषभुषा र विभिन्न देशको खानाको परिकार एकै थलोमा देख्न पाइने बताउँछन।
‘अब अझै बढी विदेशी खाना, संस्कृति, भेषभुषा, लाइभ ब्यान्ड तथा अन्य हस्तकलाका सामानहरु भित्राएर अन्तराष्ट्रियस्तरको बनाउनेतर्फ लाग्नुपर्छ’, उनले भने।
हिमाल र तालैतालको सुन्दर पार्कनै मान्छन पोखरालाई पर्यटकहरु। पोखराको सुन्दरता देखेर दर्जनौं पटक आएका पर्यटकले पोखरालाई संसारकै सुन्दर सहर भनेर चित्रण गर्ने पर्यटन व्यवसायी बताउँछन।
त्यहीमाथि यो सडक महोत्सव एउटा ब्रान्डको रुपमा थपिएकाले पर्यटनको अफ सिजनमा पनि अहिले चहलपहल हुने उनीहरुको भनाइ छ। ‘महोत्सवले अफ सिजनलाई सिजनमात्रै बनाएको छैन। विशेष गरी आन्तरिक पर्यटकलाई सडक महोत्सवमा सहभागिता जनाउनै पर्छ भन्ने भावनाको बिकास गराएको छ’, होटल संघ पोखरा नेपालका अध्यक्ष लक्ष्मण सुवेदी भन्छन्, ‘महोत्सवले देशभित्र र बाहिरको समेत कला संस्कृतिको आदान प्रदान भइरहेको छ।’
महोत्सवका अवसरमा पोखराका तारेदेखि भित्री बजारमा रहेका होटल समेतलाई केही राहत मिल्ने उनले बताए सुवेदीका अनुसार आजको दिनमा पोखराका होटलको अकुपेन्सी झन्डै ६० प्रतिशत छ। भोली मंगलबार यो ८० प्रतिशत पुग्ने अनुमान छ। यसमा झन्डै ७५ प्रतिशत नेपाली, १५ प्रतिशत भारतीय र १० प्रतिशत् अन्य मुलुकका पर्यटकहरु छन्। पोखराका पर्यटकीय होटलमा ४० हजार बेड छन्।
महोत्सवकै कारण अल्ट्रालाइट, प्याराग्लाइडिङजस्ता साहसिक खेलकुद, पोखरा आसपासका जिल्ला तथा स्थानमा घुमफीर भएर होमस्टेहरुकोसमेत प्रवद्र्धन हुने अध्यक्ष पौडेलले बताए।
थुप्रै आन्तरिक पर्यटकहरु योजना बनाएरै महोत्सवमा सहभागि हुने, आसपासका रमणीयस्थलको अवलोकन गर्ने, छोटो दुरीका ट्रेकिङ, हाइकिङसमेत जाने गर्छन। ‘यसले अर्थतन्त्रलाई पनि टेवा दिन्छ’ पौडेलले भने, ‘एउटा महोत्सवले होटल, रेष्टुरेन्ट, यातायात, कृषि, डेरी, ग्रोसरी, हस्तकलालगायतमा सकरात्मक प्रभाव पर्छ।’ यसपटकको महोत्सवमा ४ लाख जति पर्यटक आउने र त्यसमा अधिकांश आन्तरिक रहने उनले बताए।
शनिबारदेखि सडक महोत्सव चलिरहेको छ। पर्यटक लोभ्याउन ५ दिनसम्म विभिन्न मनोरन्जनात्मक कार्यक्रम भइरहेका छन्। लेकसाईडको करीब ३ किलोमिटर क्षेत्रमा सडकमै खाऔ, सडकमै नाचौ र सडकमै रमाऔ भन्ने नारासाथ महोत्सव भइरहेको हो। रेवानको यो महोत्सव २६ औं संस्करण हो। लेकसाइडका विभिन्न ४ स्थानमा स्टेज बनाएर विभिन्न झाँकी, लोकसंगीत देखि आधुनिक ब्यान्ड बाजा, नृत्यका साथै समसामयिक बिषयमा आधारित टक सो कार्यक्रम पनि आयोजना भइरहेका छन्।
सडकमै मनोरंजनात्मक खेलकुदहरु जस्तैः वेटर रेस, रस्साकसी, बोट रेस र विभिन्न रमाइला खेलहरु समावेश गरिएको छ। महोत्सवको अवसरमा होटल संघ पोखराले २० प्रतिशत, टानले २५ प्रतिशत, प्याराग्लाईडिङमा १० प्रतिशत, रेष्टुरेन्टले १० प्रतिशत छुटको व्यवस्था गरेका छन्।
नेपाल पर्यटन बोर्डका पूर्वसदस्य टिकाराम सापकोटा हालसम्म सडक महोत्सव उत्कृष्ट रहदै आएकोमा अब समयअनुसार परिमार्जन पनि गर्दै जानुपर्ने बताउँछन्। अब ‘कार्निभल’ को रुपमा अर्थात् नेपाली संस्कार, संस्कृति जस्तै ढिकी, जाँतोजस्तो परम्परागत साधनको पर्यटकले प्रत्यक्ष हेर्न पाउने व्यवस्था मिलाउनेतर्फ महोत्सवलाई लैजानुपर्ने उनको भनाइ छ।
