चिसोका कारण हुने बिरामीको सङ्ख्यामा वृद्धि, सावधानी अपनाउन आग्रह

Share:

काठमाडौँ । चिसोका कारण यहाँका अस्पतालहरुमा बिरामीको सङ्ख्यामा वृद्धि भएको छ। पछिल्ला दिनहरुमा चिसोका कारण हुने रोगको समस्या लिएर अस्पताल आउने बिरामीको सङ्ख्यामा वृद्धि भएको हो।

मुख्यगरी अस्पतालका मेडिसिन, बालरोग र हाडजोर्नी विभागमा यस्ता बिरामीको सङ्ख्या धेरै छ। अस्पतालहरुमा बिरामीको चाप बढ्दै गएपछि चिकित्सकले चिसोबाट बच्न आग्रह गरेका छन्।

भरतपुर अस्पतालका वरिष्ठ फिजिसियन डा. प्रमोद पौडेलका अनुसार आफ्नो विभागमा दैनिक आउने बिरामीमध्ये २० प्रतिशत चिसोका समस्या भएर आउने गरेका छन्।

उनले भने, ‘चिसोका कारण रुघा, खोकी, ज्वरो, दम बढ्ने, घाँटी दुख्नेजस्ता समस्याका बिरामी बढेका छन्।’

मुटुको समस्या र उच्च रक्तचापका बिरामीले चिसोमा हिँड्न उचित नहुने उनको भनाइ छ। हिँड्नै परेमा न्यानो कपडा लगाउने, नाक, मुख, टाउको घाँटी छोपेर, हातमा पन्जा लगाएर हिँड्दा उत्तम हुने उनले बताए।

कमेन्ट गर्नुहोस्
Share: