‘स्वच्छ पोखरा, स्वस्थ पोखरेली’ भन्ने नारासहित भूतपूर्व खेलाडी मञ्चले पोखरामा मासिक दौड गर्ने

Share:

पोखरा। नेपाल भूतपूर्व खेलाडी मञ्चले पोखरामा मासिक र साप्ताहिक दौड कार्यक्रम गर्ने भएको छ। ‘स्वच्छ पोखरा, स्वस्थ पोखरेली’ नारालाई आत्मसात् गर्दै, मञ्चले पोखरा महानगर पालिकाको सहयोगगमा मासिक र साप्ताहिक दौड कार्यक्रम सञ्चालन गर्ने भएको हो।

मञ्चका अध्यक्ष दिलबहादुर गुरुङका अनुसार पहिलो मासिक दौड कार्यक्रम पुस २७ गते हुने भएको छ। ३ किमी र ५ किमीको छात्र तथा छात्रा दौडमा ८ देखि १६ वर्ष उमेरका बालबालिका सहभागी हुन सक्नेछन्। ३ किमीको दौड ८–१२ वर्ष उमेर समूह (कक्षा ५ सम्म) र ५ किमीको दौड १२–१६ वर्ष उमेर समूह (कक्षा १० सम्म) का लागि छुट्याइएको छ।

दौडको मार्ग रंगशालाबाट सुरु भई पोखरा वडा नं. १० इन्द्रमार्ग हुँदै पुनः रंगशालामा समापन हुने तय भएको छ। दर्ता प्रक्रिया पनि खुला गरिएको छ र ५ किमीको दौडमा पहिलो ५० छात्र र ५० छात्राले प्रविधि मैत्री ‘चिप्स’ को प्रयोग गर्न पाउनेछन्।

अन्तिम दर्ता मिति पुस २६ गतेसम्म राखिएको अध्यक्ष गुरुङले बताए। प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्नेहरूलाई मेडल, प्रमाणपत्र, र गिफ्ट ह्याम्पर प्रदान गरिनेछ।

मञ्चका अध्यक्ष दिलबहादुर गुरुङका अनुसार यो दौड कार्यक्रम केवल प्रतियोगिता मात्र नभई खेलकुद संस्कृतिको विकास गर्ने र स्वस्थ समाज निर्माणतर्फको महत्वपूर्ण कदम हो।

यस अभियानलाई सफल बनाउन विशेष सहयोगका लागि मञ्चले विशेष अनुरोध समेत गरेको छ।

यो मासिक दौड कार्यक्रमले नयाँ खेलाडी उत्पादन गर्न र पोखरालाई दौड संस्कृतिको केन्द्रका रूपमा स्थापित गर्न महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको अध्यक्ष गुरुङले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

कमेन्ट गर्नुहोस्
Share: