
पोखरा । ग्रेगोरियन पात्रोअनुसार आजदेखि अंग्रेजी नयाँ वर्ष अर्थात् इस्वी संवत् २०२५ शुभारम्भ गरिएको छ । नयाँ वर्ष २०२५ को पोखरामा भव्य स्वागत गरिएको छ। पोखराको पर्यटकीय केन्द्र लेकसाइडमा हजारौँ दर्शकको सहभागितामा आतिसबाजीसहित नयाँ वर्षलाई स्वागत गरिएको हो।
रेष्टुरेण्ट एण्ड बार एशोसिएसन नेपाल (रेबान) पोखराको आयोजनामा लेकसाइडमा आयोजित ‘पोखरा सडक महोत्सव’मा नयाँ वर्षको स्वागतार्थ मध्यरातमा आतिसबाजी गरिएको हो।
आतिसबाजी गर्दा त्यहाँ उपस्थित हजारौँ दर्शक सहभागी हुँदै रमाए। जब आयोजकले सांगीतिक कार्यक्रम भइरहेको स्थानमा ‘हृयाप्पी न्यू ईअर’भन्दै अतिसबाजी गरे तब दर्शकको ताली र हुटिङले लेकसाइड गुञ्जयमान भयो।
नयाँ वर्षको स्वागतार्थ हजारौं दर्शक शनिबार राती लेकसाइड पुगे। विशेष गरेर युवायुवतीको बाक्लो सहभागिता थियो। अन्य समयमा बाहृय पर्यटकको चहलपहल बढी हुने लेकसाइडमा शनिबार नयाँ वर्षको स्वागतमा आन्तरिक पर्यटकको संख्या हृवात्तै बढ्यो।
लेकसाईडको करीब ३ किलोमिटर सडकमा आयोजित ‘पोखरा सडक महोत्सव’मा बिहानदेखि मध्यरातसम्मै दर्शकको चाप थियो। महोत्सवको अवसरमा सबै होटल भरिभराऊ हुँदा कयौं दर्शक मध्यरातमा घर फर्किए भने अग्रिम बुकिङ गर्नेहरु होटलमै बास बसे।
जिजस क्राइस्टलाई फाँसी दिएपछि इस्वी संवतको सुरुवात् भएको मान्यता छ। पोप ग्रेगोरियनले जुलियन पात्रो अनुसारको संवतलाई प्रतिस्थापन गर्दै अहिले प्रचलनमा आएको पात्रोलाई चलाएकाले यसलाई ग्रेगोरियन पात्रो अनुसारको नयाँ वर्ष भनिन्छ।
जुलियन पात्रो शासक जुलियस सिजरले प्रचलनमा ल्याएका थिए। विवादकै कारण यो पात्रो रसियाले २०० वर्षपछि मात्र प्रचलनमा ल्याएको हो।
केही वर्ष अघिदेखि नेपालका विभिन्न स्थानमा इस्वी संवत् मनाउने गरिएको छ। विदेशी पर्यटकको भीडभाड हुने पोखरासहित काठमाडौँको ठमेल, बौद्ध, सौराहा, लुम्बिनी सडकलगायत क्षेत्रमा विशेष चहलपहल देखिएको छ।
