अमेरिकामा विमान भवनमा ठोक्कियो

Share:

वासिङ्टन डिसी । अमेरिकाको दक्षिणी क्यालिफोर्नियामा विमान दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ। यस्तै १८ जना घाइते भएका छन्। एउटा सानो विमान उडानको क्रममा भवनको छतमा ठोक्किएर दुर्घटनाग्रस्त बनेको समाचारमा उल्लेख छ। फुलर्टन प्रहरीका प्रवक्ता क्रिस्टी वेल्सका अनुसार यो घटना बिहीबार दिउँसो भएको हो।

ओरेन्ज काउन्टीको फुलर्टन सहरमा दिउँसो २ः०९ बजे यो दुर्घटना भएको हो। झन्डै २ सय जना काम  गरिरहेको एउटा फर्निचर बनाउने भवनको छतमा विमान ठोक्किएको थियो। घटनास्थलमा प्रहरी र दमकलले आगो नियन्त्रणमा लिएको वेल्सले बताएका छन्।

मृतक र घाइतेहरू विमानका हुन् कि घरमा काम गरिरहेका हुन् अझै थाहा हुन सकेको छैन। एबीसीले सार्वजनिक गरेको एउटा भिडियो फुटेजमा भने ठुलो भवनको माथिबाट सेतो धुवाँ निस्किरहेको देखाएको छ। विमान फुलर्टन म्युनिसिपल एयरपोर्ट नजिकै दुर्घटना भएको हो। यस विमानस्थलमा एउटा धावनमार्ग र एउटा हेलिप्याड छ।

कमेन्ट गर्नुहोस्
Share: