
काठमाडौँ। मेडिलक व्यवसायी दुर्गा प्रसाईंसहित ३ जनाविरुद्ध संगठित रूपमा आपराधिक लाभ (एक्सटर्सन) लिएको कसुरमा अभियोग पत्र दर्ता गरिएको छ।
बुधवार काठमाडौँ जिल्ला सरकारी वकिल कार्यालयका जिल्ला न्यायाधिवक्ता खडिन्द्र राज कटुवालले काठमाडौँ जिल्ला अदालतमा अभियोगपत्र दायर गरेका हुन्।
भारतीय गुण्डा नाइके लरेन्स विश्नोइको नाममा नेपालका व्यवसायीलाई धम्क्याएर आपराधिक लाभ लिएको कसुरमा दुर्गा प्रसाईं, पाँचथर घर भएका हरिचन्द्र फुयल ‘नविन’ र तेह्रथुम घर भएर बिर्तामोड भएका रामचन्द्र मैनालीलाई प्रतिवादी कायम गरिएको छ। रामचन्द्र मौनली फरार छन्।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले हरिचन्द्र फुयललाई भारतबाट पक्राउ गरेर काठमाडौँ ल्याएको थियो। उनले भारतमा बसेर नेपालका व्यवसायीलाई फोनमार्फत धम्क्याउने गरेको ब्यूरोका प्रवक्ता (एसपी) होविन्द्र बोगटीले बताए।
फुयलले नेतृत्वको दुर्गा प्रसाईं नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानलाई सहयोग नगरे ‘सिध्याउँछु’ भनेर धम्की दिने गरेका थिए।
प्रसाईंसहितका आरोपीहरुलाई संगठित अपराध निवारण ऐन र आपराधिक लाभ लिन नहुने कसुरमा कारबाही गर्न मागदाबी गरिएको छ।
