कुँडहरचोकमा रहेको ऐतिहासिक ‘पोखरा गेट’ भत्काइयो

Share:

पोखरा। पृथ्वीराजमार्गअन्तर्गत पोखराको कुँडहरचोक नजिकैको ऐतिहासिक ‘पोखरा गेट’ गएराति भत्काइएको छ। पोखरा-मुग्लिन सडक विस्तार गर्ने क्रममा सो गेट सडकको बीचमा परेपछि भत्काइएको हो।

राजा वीरेन्द्रको शुभराज्यभिषेकका अवसरमा पोखरामा स्वागतार्थ कलात्मक गेट निर्माण गरिएको थियो। गेटको माथिल्लो भागमा बुद्ध र शिवको मूर्ति बिचमा श्रीपेच राखिएको थियो।

गेट भत्काउने र नयाँ पुननिर्माण गर्ने विषयमा बहस हुँदै आएको थियो । साथै राजनतिक दल राप्रपा, स्थानीय युवा क्लब र सरोकारवालाले गेट नभत्काउन दबाब दिँदै आएका थिए।

तर विकल्प नभएपछि उक्त गेट भत्काइएको बताइन्छ। पोखराको ऐतिहासिक सम्पदा विकल्पबिनै भत्काइएको भन्दै राप्रपा र स्थानीय आक्रोशित भएका छन्।

छापामार शैलीमा गेट हटाइएको भन्दै राप्रपा केन्द्रीय सदस्य अरुण गिरीले उक्त कार्यको विरोध गरे। गिरी मुलुकको ऐतिहासिक धरोहर भोलिका पुस्ताका लागि पनि जोगाएर राख्नुपर्ने बताउँछन्।

सडक बिस्तार होस् वा भौतिक संरचना निर्माणमा पुराना संरचनालाई तारो बनाउन नहुने, त्यसको पुननिर्माण गरिनुपर्नेमा उनको जोड छ।

यस सम्बन्धमा छलफल गर्न पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले केही दिन अघि सर्वदलीय र सर्वपक्षीय बैठक बोलाएका थिए। सो बैठकले कुनै निष्कर्ष निकाल्न सकेको थिएन।

मेयर आचार्यले भने गेट उपयुक्त ठाउँमा निर्माण गर्ने प्रतिवद्धता जनाएका छन्। राजमार्गको काम सकिएपछि उपयुक्त ठाउँमा पोखरा प्रवेशद्वार बनाउने उनले स्पष्ट पारे।

कमेन्ट गर्नुहोस्
Share: