अमेरिका आगलागी अपडेट: हुरीका कारण क्यालिफोर्नियाका नयाँ ठाउँमा डढेलोको खतरा, अझै आएन नियन्त्रणमा

Share:

काठमाडौँ। अमेरिकाको क्यालिफोर्निया राज्यको लस एन्जलस सहरमा जङ्गलमा लागेको डढेलो मत्थर हुने कुनै सङ्केत छैन । डढेलो सुरु भएको एक हप्ता भन्दा बढी भइसकेको छ । यस्तोमा नयाँ क्षेत्रमा डढेलो लाग्ने सम्भावना बढेको छ ।

लस एन्जलस वरपरको दक्षिण–पश्चिमी क्यालिफोर्नियाको ठुलो भाग बुधवारसम्ममा भीषण आगलागीको खतरामा रहेको समाचार एजेन्सी एपीले एउटा समाचारमा भनेको छ।

अमेरिकाको राष्ट्रिय मौसम सेवाका अनुसार सोमबार राति लस एन्जलसमा ४५ देखि ५० किलोमिटर प्रतिघण्टाको गतिमा हावा चलिरहेको थियो । यो हुरी मंगलबार १२० किलोमिटर प्रतिघण्टाको गतिमा पुग्न सक्ने बताइएको छ ।

यसले अन्य क्षेत्रमा डढेलो भड्काउन सक्ने बताइएको छ । लस एञ्जलको जङ्गलमा फैलिएको डढेलो बस्तीमा पस्दा अहिलेसम्म २४ जनाको मृत्यु भइसकेको छ ।

डढेलो जनवरी ७ मा देखि सुरु भएको थियो । एक हप्ता बितिसक्दा पनि यो पूर्ण रूपमा नियन्त्रणमा आएको छैन । सञ्चार माध्यमहरूमा छापिएका खबरका अनुसार जनवरी २० मा राष्ट्रपतिको रूपमा शपथ लिएपछि डोनाल्ड ट्रम्पले डढेलो प्रभावित क्षेत्रहरूको भ्रमण गर्न सक्नेछन् ।

रोयटर्सका अनुसार लस एन्जलसको डढेलोमा अहिलेसम्म १ खर्ब ३५ अर्ब देखि १ खर्ब ५० अर्ब डलरसम्मको क्षति भएको छ।

लस एन्जलसमा अग्निनियन्त्रकहरू भीषण डढेलो नियन्त्रण गर्न सङ्घर्ष गर्दै छन्। उनीहरूको प्रयासलाई सघाउन विमानबाट गुलाबी रङ्गको तरल पदार्थ छर्न थालिएको छ।

उक्त पदार्थले सडक, घरहरू, पौडीपोखरी, सवारीसाधन र बोटबिरुवा ढाकेको छ।-एजेन्सी

कमेन्ट गर्नुहोस्
Share: